इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अमेरिकाले दियो अनुमति


अमेरिकाले इरानलाई अन्तर्राष्ट्रिय बजारमा तेल बेच्न अस्थायी रूपमा छुट दिएको छ।

इरानमाथि लामो समयदेखि लगाएको प्रतिबन्ध अस्थायी रूपमा स्थगित गरी अमेरिकाले अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बेच्न बाटो खोलिदिएको हो।

छुटसँगै इरानले कम्तिमा दुई महिनासम्म डलरमा तेल बेच्न सक्नेछ। उसले अमेरिकी कम्पनी कम्पनीसहित अन्तरर्राष्ट्रिय बजारमा खुला रूपमा तेल बेच्न सक्नेछ।

अमेरिका र इरान युद्धबीच अमेरिकाले हर्मुज जलमार्ग वरपर नौसेना तैनाथ गरी इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको थियो।

अमेरिकाले नाकाबन्दी लगाउँदा तेल बेच्न नपाएर इरानका कच्चा तेल भण्डारगृह भरिएका थिए।

युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षरपछि ६० दिनका लागि युद्धविराम गर्ने सहमति भएको थियो। त्यो अबधिभित्र अन्तिम सम्झौता गर्न स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच वार्ता भइरहेको छ।

युद्धविराम अवधिभर इरानले तेल बेच्न पाउने, हर्मुजमा बिना रोकावट तेल तथा प्राकृतिक ग्यास बोकेका पानीजहाजहरुको आवतजावत गर्ने र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइएईए)का निरीक्षकहरूलाई  यही सातादेखि इरान फर्कने अनुमति दिने सहमति भएको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन्। यो सहमति कार्यान्वयनमा आएमा इरानले प्रत्यक्ष रूपमा डलरमा भुक्तानी प्राप्त गर्न सक्नेछ। यसअघि प्रतिबन्धका कारण इरानले छायाँ सञ्जालमार्फत मुख्यतः चीनलाई तेल बेच्दै आएको थियो।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौताको पालना नगरे पुनः सैन्य कारबाही गर्न सकिने चेतावनी दिए।

‘आणविक हतियारको खतरा मन्दीभन्दा धेरै ठूलो हुन्छ। मन्दी नराम्रो हो, तर आणविक हतियारले त्यसभन्दा छिटो र गम्भीर संकट निम्त्याउँछ,’ उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको रोक्का गरिएको सम्पत्ति पनि तेहरानले अमेरिकी कृषि उत्पादन खरिद गर्ने गरी फुकुवा गर्न सकिने बताएको भनेर वाल स्ट्रिट जर्नलले लेखेको छ।

उपराष्ट्रपति जेडी भान्सले आइएईएका निरीक्षकहरूलाई पुनः इरानमा फर्कन दिने सहमति महत्त्वपूर्ण रहेको बताए।

यद्यपि निरीक्षकहरूले इरानको आणविक कार्यक्रम निगरानी गर्न कुन स्तरको पहुँच पाउने र अमेरिकी तथा इजरायली आक्रमणबाट प्रभावित फोर्दो, नतान्ज र इस्फाहानजस्ता संवेदनशील केन्द्रहरूमा जान पाउने वा नपाउने विषय अझै टुंगो लागिसकेको छैन।

आईएईएका महानिर्देशक रफायल ग्रोसी पनि स्विट्जरल्यान्डमा जारी वार्तामा सहभागी छन्। उनका प्रमुख उद्देश्यहरूमध्ये एक क्षतिग्रस्त आणविक केन्द्रहरूमा निरीक्षकहरूको पहुँच सुनिश्चित गर्नु रहेको बताइएको छ।

यद्यपि इरानी सरकारी सञ्चारमाध्यमहरूले तेहरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै नयाँ प्रतिबद्धता नजनाएको दाबी गरेका छन्। इरानका कट्टरपन्थी समूहहरूले पनि निरीक्षकहरूको सम्भावित पुनरागमनप्रति असन्तुष्टि जनाएका छन्।

स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा कतार र पाकिस्तानको मध्यस्थतामा भएको वार्तामा अमेरिकी टोलीको नेतृत्व भान्सले गरेका थिए भने इरानी पक्षको नेतृत्व संसद्का सभामुख मोहम्मद बाघेर गालीबाफले गरेका थिए।

भान्सले लेबननमा हिजबुल्लाह र इसराइलबीचको तनाव तथा हर्मुज जलमार्गमा जहाज आवागमनसम्बन्धी विवाद समाधानका लागि पनि प्रारम्भिक सहमति बनेको बताए। उनका अनुसार दुवै पक्षबीच प्रत्यक्ष संवाद र विवाद व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति भएको छ।

इरानको मुख्य माग आर्थिक प्रतिबन्ध हटाउने रहेको छ भने अमेरिकाले उच्चस्तरको युरेनियम भण्डार त्याग्न र संवर्धन कार्यक्रम सीमित गर्न दबाब दिइरहेको छ। भान्सले वार्तामा सफल अन्तिम सम्झौताका लागि राम्रो आधार तयार भएको बताए पनि अझै धेरै काम बाँकी रहेको स्वीकार गरे।

वार्ताका क्रममा कतारमा रोक्का राखिएको इरानी अर्बौं डलरको कोष खोल्ने विषयमा पनि प्रगति भएको जनाइएको छ। भान्सले उक्त रकम खुला गरिए अमेरिकी खाद्यान्न खरिदमा प्रयोग गरिनुपर्ने धारणा राखेका छन्।


प्रकाशित मिति : २०८३ असार ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार