झापामा लागूऔषध नियन्त्रण अभियान तीव्र, दुई फरक स्थानबाट तीन जना पक्राउ


झापाको झापा गाउँपालिका ५ पन्थपाडास्थित हुलाकी राजमार्गमा लागुऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ७ बजे झापा गाउँपालिका ५ पन्थापाडास्थित हुलाकी मार्गमा प्रहरी चौकी शरणामतिबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बिर्तामोड वडा नं.१० बस्ने २२ वर्षीय रोहित कटुवाल र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष राजवंशीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा दुवै जनाले चार वटा कालो प्लाष्टिकले पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ६ ग्राम ४०० मिलिग्राम (प्लाष्टिक बाहेक पाँच ग्राम ३० मिलिग्राम) ब्राउन सुगर फेला परेको थियो ।

दुवै जनालाई नियन्त्रणमा लिई प्रहरी चौकी शरणामतिमा राखिएको छ ।यसैगरी प्रहरीले  झापाको कन्काई नगरपालिकामा लागूऔषधसहित एकजना पक्राउ गरेको  छ ।

आइतबार राती  १०।२० बजे कन्काई– ४ नवज्योति टोल बस्ने २१ वर्षीय हेमबहादुर लिम्बुको घरकोठामा इलाका प्रहरी कार्यालय सुरुङगाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक रबि राईको कमान्डमा खटिएको गस्ती टोलीले खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको विभिन्न किसिमका लागुऔषध फेला परेको थियो ।

उहाँको कोठाबाट प्लास्टिकसहित १ ग्राम ब्राउन सुगर ,ट्रामाडोल ट्याब्लेट ४५ पिस (क्याप्सुल), डीसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट ४४ पिस ,नाईट्राजेपाम १३ पिस , मोबाइल सामसुङ एक थान र नगद ४८ हजार १५० रुपैयाँ फेला परेको हो ।

लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । झापामा लागुऔषध विरुद्धको सचेतना कार्यक्रम सुरु भएसँगै प्रहरी समेत सक्रिय भएर लागेको पाइएको छ ।


प्रकाशित मिति : २०८३ असार ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार