रास्वपा महाधिवेशनमा आजदेखि बन्द सत्र


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ।

यसका लागि आज बिहान ७  बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ।

सोमबार बिहान ८:३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली फाइनल नहुँदा सुरू हुन सकेन। यसले रास्वपाको महाधिवेशन एक दिन लम्बिने भएको छ। सोमबार साँझ ७ बजेदेखि प्रतिनिधि कार्ड वितरण गरिएको थियो।

राति छपाइ भएका कार्ड प्रदेशमार्फत मंगलबार बिहानदेखि वितरण थालिने छ। सात प्रदेश र समायोजन एवं प्रवासका कार्ड फरक फरक ठाउँबाट सहज रुपमा वितरण गरिने पार्टीले जनाएको छ ।

कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ। केन्द्रीय निर्वाचन आयोगले आजै अर्को कार्यतालिका प्रकाशन गर्नेछ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। त्यसमा छलफल हुनेछ। सो पश्चात कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफल हुनेछ।

कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुति र त्यसमाथि छलफल हुनेछ।

सोपश्चात् पार्टीका सहमहामन्त्रीले विधानमाथिको छलफल र त्यसलाई अनुमोदन गराइने छ ।

विधान अनुमोदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस तथा छलफल र अनुमोदन गरिने छ।

पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा एवं आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने सम्भावित तालिका रहेको छ । सोपश्चात् निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने छ ।

आइतबार दिउँसो गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका कार्यक्रम उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा भइरहेको छ ।


प्रकाशित मिति : २०८३ असार ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार