मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने


वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक फिल्म ‘मदनकृष्ण’ निर्माणको घोषणा गरिएको छ। काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा फिल्मको घोषणा गरिएको हो।

फिल्मको औपचारिक शुभारम्भ मदनकृष्ण र उनका सहयात्री तथा हितैषी कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका हुन्।

मदनकृष्ण श्रेष्ठको जीवनका सुख-दुःख, संघर्ष, उतारचढाव र कलाकारिताको यात्रालाई समेटेर बायोपिक निर्माण गरिने जनाइएको छ। फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन्।

उनले यसअघि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक अन्जिला तुम्बाप्पेको जीवनमा आधारित ‘अञ्जिला’ निर्देशन गरेका थिए, जसले व्यावसायिक र समीक्षात्मक दुवै सफलता हासिल गरेको थियो। उनले ‘ब्लाइन्ड रक्स’ र ‘बबी’ जस्ता बायोपिक फिल्म पनि निर्देशन गरिसकेका छन्।

बायोपिकमा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी रहनेछिन्।

फिल्ममा मदनकृष्णको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाहलगायत जीवनका विभिन्न महत्वपूर्ण पक्ष समेटिनेछ। यसमा राजाराम पौडेल, किरण केसी, रूषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ। मदनकृष्णका दीर्घकालीन सहयात्री हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने हालसम्म सार्वजनिक गरिएको छैन।

कार्यक्रममा धिमे बाजासहित मदनकृष्ण श्रेष्ठको स्वागत गरिएको थियो। माला र खादाले सम्मान तथा शुभकामना व्यक्त गर्दा उनी भावुक बनेका थिए। हरिवंश आचार्यसँगै बसेका मदनकृष्णले आफ्ना भावना थाम्न सकेनन् भने हरिवंशले पनि बायोपिकको सफलताको शुभकामना दिएका थिए।

७६ वर्षीय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफूलाई केन्द्रमा राखेर फिल्म निर्माण हुन लागेकोमा खुसी व्यक्त गर्दै दर्शकले आफ्नो जीवनलाई अझ नजिकबाट बुझ्ने अवसर पाउने बताए। उनले आफ्नो सफलतामा हरिवंश आचार्यको महत्वपूर्ण योगदान रहेको पनि स्मरण गरे।

वरिष्ठ कलाकार हरिवंश आचार्यले मदनकृष्णको बायोपिक निर्माण हुनु आफ्नो लागि पनि गर्वको विषय भएको बताए। उनले निर्देशक मिलन चाम्सलाई नेपाली फिल्म क्षेत्रका साहसी र ऊर्जाशील निर्देशकको संज्ञा दिँदै फिल्मले कथालाई न्यायपूर्ण ढंगले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

हरिवंशले मदनकृष्ण श्रेष्ठको परिवारलाई बधाई दिँदै यो फिल्म नेपाली फिल्म उद्योगका लागि स्मरणीय र सार्थक कृति बन्ने अपेक्षा व्यक्त गरे।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व भएको उल्लेख गर्दै बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण कार्य भएको बताए। कलाकारसँगै मेकअप टोलीले पनि ठूलो मेहनत गर्नुपर्ने उनको भनाइ थियो।

निर्देशक मिलन चाम्सको नेतृत्वमा बन्ने उक्त फिल्म नेपाली फिल्म उद्योगका लागि अर्को माइलस्टोन सावित हुने विश्वाससमेत उनले व्यक्त गरे।
कार्यक्रममा गायिका आनी छोइङ डोल्माले स्वस्तिवाचन गरेकी थिइन्। त्यसअघि निर्माण टोलीले बिहान पशुपतिनाथ मन्दिरमा पूजाआजा गरेको थियो।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुने ‘मदनकृष्ण’का निर्मातामा राजकुमार श्रेष्ठ रहेका छन्।

फिल्मको कथा तथा पटकथा यम थापाले लेखेका छन्। पदमबहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की ब्याकग्राउन्ड म्युजिक र भरत कँडेल साउन्ड डिजाइनर रहेका छन्।

फिल्मको छायांकन भदौ दोस्रो सातादेखि सुरू गर्ने तयारी छ। फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनर ‘ओएसआर डिजिटल’ रहेको छ।

Madankrishna-announcement2-1782194519.jpg


प्रकाशित मिति : २०८३ असार ९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार