कासेमिरो र सेस्कोको गोलमा युनाइटेडको जित


म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई पराजित गर्दै अर्को सिजन युइएफए च्याम्पियन्स लिगमा स्थान बनाउन सम्भावना बलियो बनाएको छ।

बाँकी खेलबाट अब २ अंक मात्र जोडे पनि युनाइटेड च्याम्पियन्स लिगमा पुग्नेछ। रोमाञ्चक खेलमा युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ ले हरायो। युनाइटेडको जितमा कासेमिरो र बेन्जामिन सेस्कोले पहिलो हाफमै गोल गरे ।

खेलको ११औँ मिनेटमा ह्यारी म्याग्वायरको हेडरलाई कासेमिरोले नजिकैबाट हेड गर्दै गोल गरे। पहिलो हाफ सकिन ३ मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेसको पासमा सेस्कोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

फर्नान्डेसको जारी सिजनको यो १९औँ असिस्ट हो।
ब्रेन्टफोर्डले खेलमा केही राम्रो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। दोस्रो हाफमा डाङ्गो ओआत्ताराको प्रहार पोस्टमा लागेको थियो।

खेल सकिन तीन मिनेट बाँकी रहँदा माथियास जेन्सेनले गोल फर्काए पनि ब्रेन्टफोर्ड बराबरी गोल गर्न असफल रह्यो। अन्तिम समयमा मिकेल डाम्सगार्डको हेडर युनाइटेडका गोलकिपर सेन्ने लामेन्सले सहजै बचाए।
ब्रेन्टफोर्डको युरोपियन प्रतियोगितामा छनोट हुने आशामा धक्का लागेको छ।

३४ खेलको समाप्तिमा तेस्रो स्थानको युनाइटेडको ६१ अंक पुगेको छ। शीर्ष स्थानको आर्सनलको ७३ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको ७० अंक छ। नवौं स्थानको ब्रेन्टफोर्डको ४८ अंक छ।


प्रकाशित मिति : २०८३ बैशाख १५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार