जनकपुरलाई अन्तर्राष्ट्रिय धार्मिक गन्तव्य बनाउन विज्ञहरूको जोड


 मैथिली भाषाको कर्णप्रिय गीत “याह छी हमर जनकपुर, यी जनकक गाम जनकपुर…” प्रायः बिहान सबेरै जनकपुरधाम क्षेत्रमा गुन्जिने गर्दछ, जसले यहाँको सांस्कृतिक जीवन्तता झल्काउँछ । धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको प्राचीन सहर जनकपुरधाम पछिल्ला वर्षहरूमा प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

मधेश प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम प्राचीन मिथिला राज्यका राजा जनकको राजधानी, भगवान् रामको ससुराली तथा आदर्श नारी सीताको जन्मस्थलका रूपमा परिचित छ । यस कारण यहाँको धार्मिक महत्व अत्यन्त उच्च मानिन्छ ।

जनकपुरधामका प्रमुख आकर्षणमा जानकी मन्दिर (नौलखा मन्दिर), राम मन्दिर, लक्ष्मण मन्दिर, रङ्गभूमि क्षेत्र नजिकको सङ्कटमोचन हनुमान मन्दिरलगायत रहेका छन् । साथै रसिक निवास, अग्निकुण्डकुटी, विहारकुण्ड, रानीपाटी, पिपराकुटी र हनुमत दरबारजस्ता धार्मिक तथा ऐतिहासिक स्थलहरूले पनि पर्यटकलाई आकर्षित गर्दै आएका छन् ।

गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, अग्निकुण्ड र अन्य धार्मिक सरोवरहरूको उपस्थितिले जनकपुरको आध्यात्मिक महत्वलाई अझ उच्च बनाएको छ ।

विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, छठ, झुला र परिक्रमाजस्ता धार्मिक पर्व तथा उत्सवहरूले यहाँको पर्यटनलाई थप जीवन्त बनाएका छन् । यस्ता अवसरमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य भीड लाग्ने गरेको छ ।

धार्मिक ग्रन्थहरू जस्तै वाल्मीकि रामायण, भागवत पुराण र विष्णु पुराणमा जनकपुरलाई पुण्यभूमि, तपोभूमि तथा महत्त्वपूर्ण तीर्थस्थलका रूपमा वर्णन गरिएको पाइन्छ । श्रीसीतायनमा समेत जनकपुरधामलाई ‘सच्चिदानन्दधाम’का रूपमा व्याख्या गरिएको उल्लेख छ ।

इतिहास तथा पौराणिक कथनअनुसार जनकपुरमा वैदिक कालदेखि नै तीर्थयात्रीको आगमन हुँदै आएको पाइन्छ । विदेह माधवदेखि याज्ञवल्क्य, गार्गी, मैत्रेयी, अष्टावक्रजस्ता ऋषिमुनिहरू यहाँ आएर तत्वमीमांसा तथा ज्ञानचर्चामा संलग्न भएको उल्लेख विभिन्न ग्रन्थमा पाइन्छ ।

त्यसैगरी, जैन धर्मका २४औँ तीर्थंकरको जन्मभूमिसमेत जनकपुर क्षेत्र रहेको विश्वास गरिन्छ भने महावीरले यहाँ केही समय बिताएको प्रसङ्ग पनि पाइन्छ । बौद्ध ग्रन्थहरूमा समेत जनकपुरको चर्चा गरिएको छ ।

सन् ६४३ तिर चिनियाँ यात्री ह्वेनसाङ जनकपुर आएको कुरा आफ्नो यात्रावृत्तान्तमा उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियानका क्रममा सन् १७६७ मा किनलकको नेपाल प्रवेश पनि जनकपुर हुँदै भएको इतिहासमा उल्लेख छ ।

आधुनिक कालमा विदेशी स्वयंसेवक, अनुसन्धानकर्ता तथा कलाकारहरूको आगमनले पनि जनकपुरको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्‍याएको छ । जनकपुर वरपरका धनुषाधाम, जलेश्वरनाथ मन्दिर र गिरिजास्थानजस्ता क्षेत्रहरूले पनि धार्मिक पर्यटनलाई थप सुदृढ बनाएका छन् ।

संस्कृतिविद् डा. रामदयाल राकेशका अनुसार धार्मिक पर्यटन विश्वकै सबैभन्दा पुरानो पर्यटन स्वरूप हो र जनकपुरमा यसको ठुलो सम्भावना रहेको छ । त्यस्तै, अन्वेषक डा. राजेन्द्रविमलले यहाँका मठमन्दिर र मूर्तिहरू ऐतिहासिक उत्थान र पतनका साक्षी भएको बताउनुभएको छ ।

पर्यटनशास्त्री एच. रबिन्सनका अनुसार आकर्षक वातावरण, ऐतिहासिक सम्पदा, सहज पहुँच र आतिथ्य सत्कारजस्ता आधारभूत तत्व जनकपुरमा विद्यमान रहेकाले यसलाई योजनाबद्ध रूपमा विकास गर्न सकिने देखिन्छ ।

सेप्टेम्बरदेखि डिसेम्बरसम्मको समय यहाँ भ्रमणका लागि उपयुक्त मानिन्छ । यस अवधिमा मिथिलाका प्रमुख चाडपर्व पर्ने भएकाले पर्यटकको बसाइ थप आकर्षक हुने गर्दछ । पछिल्ला वर्षहरूमा भारतीय तथा आन्तरिक पर्यटकको आगमन वर्षभरि नै बढ्दो क्रममा रहेको छ ।

होटेल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले काठमाडौँ–पोखरा–चितवन केन्द्रित पर्यटनलाई विस्तार गरी जनकपुरलाई प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने बताउनुभयो ।

त्यसैगरी, प्राध्यापक डा. भोगेन्द्र झा ‘व्यथित’ ले जनकपुरलाई ‘विवाहभूमि’का रूपमा ब्रान्डिङ गरी नवविवाहित जोडीहरूको अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ ।

सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेटमा जनकपुरलाई विवाह र लुम्बिनीलाई बर्थिङ हबका रूपमा विकास गर्ने कार्यक्रम समावेश गरे पनि कार्यान्वयन अझै प्रभावकारी हुन सकेको छैन ।

यसरी ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरले समृद्ध जनकपुरधामलाई व्यवस्थित योजना, पूर्वाधार विकास र प्रभावकारी प्रवद्र्धनमार्फत अन्तर्राष्ट्रिय धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्न सकिने विज्ञहरूको भनाइ छ ।


प्रकाशित मिति : २०८३ बैशाख १५, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार