काठमाडौं । सिक्किम सरकारद्वारा आयोजित ‘सिक्किम अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ को पहिलो संस्करण भव्य रूपमा सम्पन्न भएको छ। प्रदेशको सांस्कृतिक तथा चलचित्र क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा नेपालको तर्फबाट बटरफ्लाई फिल्म्सकी संस्थापक तथा प्रबन्ध निर्देशक जेनीश पहारीले सहभागिता जनाउनुभएको छ। नेपालको एकमात्र महिला फिल्म वितरकको रूपमा पहारीले उक्त प्रतिष्ठित मञ्चमा नेपालको प्रतिनिधित्व गर्नुभएको हो।
फेस्टिभलका दौरान पहारीले ‘बिल्डिङ द फ्युचर: स्ट्रेन्थेनिङ फिल्म्स इन सिक्किम’ र ‘प्रोड्युसर्स कन्भर्सेसन’ जस्ता महत्त्वपूर्ण प्यानल छलफलहरूमा वक्ताको रूपमा आफ्नो धारणा राख्नुभएको थियो। ती सत्रहरूमा उहाँले नेपालमा विकसित भइरहेको सुदृढ फिल्म इकोसिस्टम, नेपाली डायस्पोराको प्रभावकारी उपयोग र आन्तरिक बक्स अफिसमा नेपाली फिल्मको बढ्दो वर्चस्वबारे अनुभव बाँड्नुभएको थियो।
विशेषगरी, सीमापार सहकार्य र सह-निर्माण (Co-production) का सम्भावनाबारे चर्चा गर्दै पहारीले सिक्किमको चलचित्र उद्योगलाई अघि बढाउन आवश्यक रणनीतिहरूका बारेमा समेत सुझाव दिनुभएको थियो। कार्यक्रमकै क्रममा उहाँले धर्मा प्रोडक्सनका प्रमुख सञ्चालन अधिकृत राजीव मसंद र सिक्किम सरकारका उच्च अधिकारीहरूसँग एक विशेष ‘क्लोज डोर’ गोलमेच छलफलमा सहभागी भई क्षेत्रीय चलचित्र नीतिका बारेमा विमर्श गर्नुभयो।
नेपाली चलचित्र क्षेत्रको विकास र क्षेत्रीय सहकार्य प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले पहारीलाई विशेष सम्मान प्रदान गर्नुभएको छ। यस सहभागिताले नेपाल र भारतबीचको सांस्कृतिक तथा सिनेमाटिक सम्बन्धलाई थप उचाइमा पुर्याउने र आगामी दिनमा दुई देशबीच चलचित्र आदानप्रदानमा सहजता आउने अपेक्षा गरिएको छ।

