सरकारले दुई वटा अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपति कार्यालयमा पठाएको छ।
सोमबारको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। उक्त अध्यादेशहरू जारी गर्न सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरू जारी गर्ने संवैधानिक व्यवस्था छ।
‘हिजोको मन्त्रिपरिषद बैठकले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ,’ स्रोतले भन्यो।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबारको मन्त्रिपरिषदका ३ वटा निर्णय मात्रै सुनाएका थिए, जसमा अध्यादेश सिफारिस गरिएको विषय थिएन। राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले ती अध्यादेशहरू अध्ययनमा रहेको बताएका छन्। ‘अध्यादेशहरू अध्ययनकै क्रममा छन्,’ उनले भने।
सरकारले संघीय संसदका दुवै अधिवेशन आह्वान गरिसकेर स्थगन गर्न राष्ट्रपतिसमक्ष आग्रह गरी स्थगन भएपछि अध्यादेश ल्याएको हो।
नियमित अधिवेशन ‘छलेर’ सरकारले अध्यादेश ल्याएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विरोध गरेको छ।

