ओभरस्पिड र ओभरटेकका कारण दुर्घटना: धनकुटामा एकको मृत्यु, एक जना धरान रिफर


धनकुटामा मोटरसाइकल एकआपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मंगलबार बिहान करिब ७ः१५ बजे धनकुटा–हिले सडकखण्ड अन्तर्गत धनकुटा नगरपालिका –४, स्थित च्यानेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर सुनसरीको रामाधुनि नगरपालिका –९, स्थित झुम्का घर भइ हाल धनकुटा नगरपालिका –७, स्थित सब्जीलाई बस्दै आउनुभएका ५५ बर्षिय विशाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै, घाइते हुनेमा धनकुटा नगरपालिका –१, स्थित हिलेका स्याम तामाङ रहनु भएको छ । चौधरी को १२ प ८०९८ नम्बरको मोटरसाइकलमा धनकुटाबाट हिलेतर्फ जाँदैगर्दा विपरीत दिशाबाट आउँदै गरेको को २५ प १७७ नम्बरको मोटरसाइकल ओभर स्पिड र ओभरटेक गर्ने क्रममा एक आपसमा ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकाल दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा विहान करिब ९ बजे डाक्टरले मृत घोषण गरेका थिए । दुर्घटनामा घाइते भएका तामाङलाई सामान्य उपचारपछि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको स्थल धनकुटामा रहेको श्री भिमदल गणको टोली पिटी दौडीने क्रममा देखेर उद्धार गरी अस्पताल ल्याइएको बताइएको छ । सुनसरीको झुम्का घर हुनु भएका चौधरी धनकुटामा फर्निचर व्यवसाय गर्दै आउनुभएको थियो । तामाङ जिल्ला अस्पताल धनकुटामा डाइलोसीस वार्डमा कार्यरत हुनुहुन्छ ।

प्रहरीका अनुसार मृत्यु भएका चौधरीको शव जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टमका लागि राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


प्रकाशित मिति : २०८३ असार २, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार