सुनको माग घट्दा आयातमा कमी, राजस्व सङ्कलनमा असर


सुनचाँदीको कारोबारमा ९० प्रतिशतले गिरावट आएको छ । बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ ।

निरन्तर मूल्य बढ्दै गएपछि बजारमा सुनको माग घट्दा कारोबारमा उल्लेख्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग कम भई कारोबार ठप्प भएको हो । महासङ्घका प्रथम उपाध्यक्ष धर्मसुन्दर वज्रचार्यले सुनको मूल्य निरन्तर बढ्दै गएपछि सुनचाँदी व्यवसायमा ठुलो असर परेको जानकारी दिनुभयो । बजारमा माग न्यून हुँदा बिहेको सिजनका बेला पनि अहिले कारोबार बढ्न सकेको छैन, उहाँले भन्नुभयो, “मूल्य बढेका कारणले गर्दा १० प्रतिशत मात्र सुनचाँदीको कारोबार छ ।” सुनको कारोबार घटेपछि व्यवसाय सञ्चालन गर्न नसकेर साना व्यवसायी अन्य व्यवसायमा गएको उहाँको भनाइ छ ।

मुख्य बजारका सुनचाँदी पसलमा फाट्टफुट्ट कारोबार भए पनि भित्री ठाउँमा रहेका पसल सुनसान छन् । साना व्यवसायीले पसलको भाडा तिर्न नसकेर पसल छाडेर अन्य व्यवसाय गर्न सुरु थालेको वज्राचार्यले जानकारी दिनुभयो । महासङ्घका अनुसार सामान्य अवस्थामा बिहेको सिजनमा दैनिक ३० देखि ४० किलो सुनको माग हुने गरेको अहिले पाँचदेखि १० केजी पनि मुस्किलले हुने गरेको छ । आवश्यक पर्ने ग्राहकले न्यून परिमाणमा सुन खरिद गर्ने र पुरानै गहनाले काम चलाउने गरेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूूल्य बढेकाले सुनको कारोबारमा ९० प्रतिशतले कमी आएको जानकारी दिनुभयो ।

सुनको कारोबार घट्दा काम गर्ने कर्मचारी र कालिगडलाई समेत तलब खुवाउन समस्या पर्न थालेको उहाँको भनाइ छ । सुनचाँदी क्षेत्रमा काम गर्ने भारतीय र बङ्गलादेशका कालिगड छन् ।

महासङ्घले सुनको मूल्य बढ्दै गएकाले सुनचाँदी व्यवसायमा असर पर्न थालेपछि आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत भन्सार महसुल र विलासिता कर समायोजन गर्न माग गरेको छ । व्यवसायीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर भन्सार महसुल समायोजन गर्न माग गरेका हुुन् । हाल सुन आयातमा १० प्रतिशत भन्सार महसुल र दुई प्रतिशत विलासिता कर रहेको छ ।

भन्सार महसुल र विलासिता करका कारणले गर्दा सुनको मूल्य थप महँगो भएको व्यवसायीको भनाइ छ । सुनमा लाग्दै आएको भन्सार महसुल छ प्रतिशतमा झार्न व्यवसायीले माग गरेका छन् ।

सुनको आयात घट्यो

बजारमा सुनको माग कम भएपछि आयातमा समेत कमी आएको छ । भन्सार विभागका अनुसार चालु आव २०८२/८३ को नौ महिनामा २३ अर्ब ५० करोड रुपियाँ बराबरको एक हजार २५४ केजी सुन आयात भएको छ । गत सो अवधिमा १७ अर्ब १२ करोड ८९ लाख रुपियाँ बराबरको एक हजार ३८९ केजी सुन आयात भएको थियो ।

अघिल्लो वर्षको तुलनामा १३५ केजी सुन कम आयात भएको तथ्याङ्कले देखाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले चालु आवमा सुनका लागि बाहिरिने रकम बढेको हो ।

सुनको आयात कम हुँदा सरकारलाई राजस्व सङ्कलनमा समेत उलेख्य कमी आएको छ ।


प्रकाशित मिति : २०८३ बैशाख २५, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार