आशिष लामिछाने , रौतहट, अशोज १३: उद्योग संचालन सजिलो छैन
फैयाज अलि
निर्देशक, दुल्ला

नेपालमै ब्याग उत्पादन कति सजिलो रहेछ ?
शायद सजिलो भएको भए, उत्पादनका लागि धेरै अग्रसर हुन्थे होलान् । तर, दुल्लाको सफलताका बाबजुत नेपालमै ब्याग उत्पादन त्यो पनि दुल्लासँग प्रतिस्पर्धा गर्ने स्तरमा अहिलेसम्म भएको छैन । यसले पनि यो सजिलो छैन भन्ने देखाउँछ । हामीले आफ्नै कुरा गर्नुपर्दा ब्याग होस् या सानो कार्ड होल्डर, उत्पादन प्रकृया जटिल, टाईम कन्जुमिङ् र स–साना डिटेलिङ्मा ध्यान दिनुपर्ने निक्कै झण्जटिलो पनि छ । हामीले एउटा छालाको टुक्रालाई ब्यागमा परिणत गरेर विक्री कक्षमा पुर्याउँदासम्म ठूलै युद्ध जितेको आभाष हुन्छ । कहिले चाहिएको कच्चा पदार्थ पाईदैन, कहिले डिजाईन अनुसारको एक्सेसोरीज उपलब्ध हुँदैन । हाम्रो उत्पादनको प्रकृया बाहेक सम्पूर्ण निर्भरता आयातमा रहँदा उत्पादन प्रकृया जटिल र खर्चिलो पनि छ ।
उत्पादन प्रकृयामा के कस्ता चुनौतीहरुको सामना हुनेगर्छ ?
कच्चा पदार्थको सहज उपलब्धता नै हाम्रा लागि प्राथमिक चुनौती बन्ने गरेको छ । बजारको आकार निक्कै सानो छ, त्यसैले आँफै कच्चा पदार्थ आयात संभव हुँदैन । स्थानिय रुपमा उपलब्ध हुने कच्चा पदार्थमा निर्भर रहनुपर्दा हामीले चाहे अनुरुपको डिजाईन र गुणस्तरमा उत्पादनहरु उत्पादन गर्न सजिलो छैन । दक्ष जनशक्तीको पनि सँधै संकट पर्नेगर्छ, यद्धपी हामी यसमा निरन्तर टे«निङ् र एक्पोजर दिलाएर जनशक्ति ब्यवस्थापन गर्दै आएका छौं ।
विद्यमान प्रतिस्पर्धाको अवस्था कस्तो छ ?
हामीले आफूलाई नेपाली बजारमा विद्यमान धेरै ब्राण्डहरु भन्दा फरक स्थानमा पोजिसनिङ् गरेका छौं । त्यसैले सोझो प्रतिस्पर्धाको खासै सामना गर्नुपरेको छैन । यद्धपी विभिन्न ठाउँबाट आयात गरिने विभिन्न किसिमका फास्ट फेसन सँगै हाम्रो प्रतिस्पर्धा हुनेगर्छ । दरवारमार्गका विभिन्न पसलमा पाईने राम्रा उत्पादनहरु नै हाम्रा प्रतिस्पर्धी हुन् । कतिपय गुणस्तरमा पनि प्रतिस्पर्धा गर्छन् तर धेरै चाहिँ ब्राण्डको आवरणमा विना गुणस्तरका उत्पादन सँग प्रतिस्र्धा गर्नुपर्दा चाहिं खासै रमाईलो हुँदैन । तर, गुणस्तर बुझ्ने उपभोक्ताहरुले हामीलाई निरन्तर माया गरिदिनुहुन्छ, हामी वहाँहरु प्रति आभार छौं ।
राज्यका तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?
यो, ह्याण्डक्राफ्ट उद्योग हो । यहाँ धेरै जनशक्तीको उपयोग हुन्छ । हामीले प्रतिस्पर्धी मूल्यमा आफ्ना उत्पादनहरु उत्पादन गर्नसके निर्यातको प्रबल संभवना पनि रहन्छ । हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्न राज्यबाट सहयोग भएको खण्डमा ठूलो उपलब्धि हाँसिल हुनसक्छ । तर, यस क्षेत्रलाई कुनै पनि किसिमको पहिचान प्राप्त हुन नसक्दा संभावित प्रतिफलबाट हामी बन्चित हुनुपरेको छ । राज्यले यसलाई निर्यातजन्य उत्पादनको मान्यता दिई कच्चा पदार्थ आयातमा सहुलियत प्रदान गरे यस क्षेत्रले थप प्रगती हाँसिल गर्ने निश्चित छ ।

