काठमाडौं, आज सोमबार हरितालिका तीजको अघिल्लो दिन । बेलुका घर घरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व सुरु भएको छ ।
आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ ।
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ भोलि मङ्गलबारको तीजको व्रतका लागि पूर्व तयारी गर्छन् ।
महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने गरेका छन् । गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् ।
जन्मघरबाट कर्मघरमा गइ बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् । पछिल्ला वर्षहरुमा तीजका नाममा तडक भडक बढेको छ ।
यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् ।
दरका नाममा जाँडरक्सी खाने चलन बढिरहेको भन्दै उनीहरुले चिन्ता पनि जनाएका छन् । आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।