काठमाडौ, चालू आर्थिक वर्षको वैशाखमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाको संख्या हालसम्मकै कम रहको पाइएको छ ।
विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटन थालेको हो ।
पछिल्लो समय नेपाली युवाको उच्च माग गर्ने मलेसियाले समेत विदेशी श्रमिक कोटा घटाएको छ ।
चालू आर्थिक वर्षको भदौमा वैदेशिक रोजगारीका लागि जारी भएको श्रम स्वीकृति उच्च विन्दु रहेपनि त्यस यता श्रम स्वीकृति लिने युवा प्रत्येक महिना घटदो क्रममा रहेका छन् ।
चालू आर्थिक वर्षको भदौमा ७६ हजार युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकोमा वैशाखमा घटेर ५४ हजारमा खुम्चिएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले घटनु पर्ने बिशेष कारण नभएपनि रोजगारदाताको आवश्यकता पुरा भएका कारण घटेको हुन सक्ने बताए ।
उनका अनुसार श्रम स्वीकृति संख्या उल्लेख्य रुपमा घटेको नभएपनि व्यवसायीले माग ल्याउन नसक्दा केही घटेको हो ।
गत वर्षको तुलनामा चालू आवको वैशाखसम्म ६ लाख ४० हजार युवा वैदेशिक रोजगारीमा गएको तथ्याकंले देखाएको छ ।
यद्यपि यो संख्या गत आर्थिक वर्षको तुलना भन्दा बढी हो । गत वर्षको फागुनसम्म वैधानिक तरिकाले विदेश जानेको संख्या ५ लाख ५९ हजार रहेकोमा चालु आवमा यो संख्या ६ लाख ४० हजार पुगेको छ ।
वैदेशिक रोजगार विभागले सार्वजानिक गरेको विगत १० महिनाको तथ्यांकले यो वर्ष रोजगारीका लागि जानेको संख्या ६ लाख ५० हजारको हाराहारीमा हुने देखिएको छ ।
गत वर्ष वैदेशिक रोजगारीमा जान ६ लाख ३५ हजारले श्रम स्वीकृति लिएकोमा चालू आवको बाँकी २ महिनामा अझै घट्ने आकलन गरिएको छ ।
विभागको दुई आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्दा चालू आवमा दैनिक औसत २ हजार २ सय भन्दा बढी युवाले श्रम स्वीकृति लिएको देखिन्छ ।
गत वर्षको फागुनसम्म मासिक औसत ५० हजार युवाले श्रम स्वीकृति लिएकोमा चालू आवमा यो संख्या मासिक ६४ हजार रहेको छ ।
चालू आवको साउनमा ६३ हजार, भदौ ७६ हजार, असोज ५६, कार्तिक र मंसिरमा ६८ हजार, पुष ६५ हजार, माघमा ६४, फागुनमा ६१ र चैतमा ६१ हजार ४७८, वैशाखमा ५४ हजारले श्रम स्वीकृति लिएको देखिन्छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या खाडी देशबाट मलेसिया तिर बढ्न थालेको भएपनि हाल आएर त्यहाँ जाने युवा संख्या घटेको छ ।
विगत १० महिनायता मलेसिया जानेको संख्या समेत घटदै गइरहेको छ । लकडाउन यता आन्तरिक रोजगारीमा संकुचन आएपनि विगत एक वर्षयता वैदेशिक रोजगारमा जाने संख्याले रेकर्ड नै कायम गरेपनि अबका दिनमा घट्ने संकेत देखिएको छ ।
साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम हालसम्म पनि घट्दो रुपमा रहेका कारण आगामी दिनमा आउने रेमिट्यान्स समेत घटने देखिएको छ ।
गत आर्थिक वर्षमा श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकको संख्या ३.६८ गुणाले वृद्धि भएर ६ लाख ३६ हजार पुगेको थियो ।
गत वर्ष श्रम स्वीकृति लिनेको संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा तेब्बर बढी छ । अघिल्लो आवमा १ लाख ६६ हजार ६९८ युवाले विदेशमा रोजगारीमा जाने जनाउँदै श्रम स्वीकृति लिएका थिए ।
यस्तै आव २०७६/७७ मा श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ३ लाख ६५ हजार ४३३ रहको विभागको तथ्यांकमा उल्लेख छ ।