स्थानीय आवश्यकता परिपूर्तिमा प्राथमिकता दिएका छौं


प्रणय रत्न स्थापित
निर्देशक
सामसङ नेपाल

पछिल्ला दिनमा नेपालको मोबाइल बजार कस्तो अवस्थामा रहेको देखिन्छ ?
नेपालको मोबाइल बजार स्वतन्त्र विकास र वृद्धिको बाटोमा हिंँड्न नपाएको मैले महसुस गर्ने गरेको छु । विभिन्न किसिमका नीतिगत परिवर्तनका प्रभावहरु नेपाली मोबाइल बजारले निरन्तर सामना गरिराख्नु परेको छ । प्रत्येक वर्षको बजेटमा करका दरहरुमा हेरफेर हुनु त स्वाभाविकजस्तै लाग्थ्यो, तर पछिल्लो समयमा आर्थिक संकट र घट्दो डलर सञ्चितिलाई कारण देखाएर आयातमै लगाइएका बन्देजहरुले यस व्यवसायलाई धराशयीको नजिक पु¥यायो । मोबाइलमा लाग्ने भ्याट रकमसम्बन्धी व्यवस्थामा बारम्बार भएका परिवर्तनहरु हुन् या यसमा लगाइएको अन्तःशुल्कसम्बन्धी व्यवस्था होस्, मोबाइललाई विलासिताको साधनका रुपमा लिइँदै आएको थियो । जुन लामो समय लगाइएको आयात बन्देजले पुष्टि गरेको छ । मोबाइल आधुनिक जमानाको प्रोडक्टिभ टुल र अपरिहार्य संसाधन बनेको सर्वविदितै छ । यसलाई राज्यपक्षले बुझ्न अत्यावश्यक छ ।

के साँच्चै मोबाइल विलासिता नै हो र ?
यहाँको प्रश्नमै उत्तर लुकेको छ, यहाँले आफैंले मोबाइल विलासिताको संसाधन होइन भनेर प्रश्नमै भन्न खोज्नुभएको छ । त्यो सत्य हो । यस एक्काइसौं शताब्दीको आधुनिक जमानामा उत्पादकत्वको पहिलो कारक मानिएको सञ्चार र इन्टरनेटको पर्याय बनेको मोबाइललाई विलासिता देख्नु पक्कै पनि जायज मानसिकता होइन । मोबाइल फोनले आज धेरै कामकाजीहरुको डेक्सटप, ल्यापटप र क्यामेरा प्रतिस्थापन गरिसकेको छ । यहाँ स्वयंले अहिले मेरो अन्तर्वार्ता रेकर्डरको सट्टा मोबाइलमा रेकर्ड गरिरहनुभएको छ । अनि चाहिने तस्बिर पनि त्यसै मोबाइलले खिच्नुहुन्छ । यो एक ग्याजेटले धेरै ग्याजेटलाई प्रतिस्थापन गरिसकेको छ र भविष्यमा अझै गर्दै जानेछ । हातैमा हुने मोबाइलले अन द गो जहाँ पनि इमेल रिप्लाई गर्न मात्र होइन, सामसङका प्रिमियम स्मार्टफोनमा भएको डेक्स फिचरले मोबाइलबाटै ल्यापटपझैं काम गर्ने सुविधा दिएको सर्वविदित्तै छ । यस अवस्थामा पूर्ण रुपमा आधुनिक जमानाको भरोसायोग्य प्रोडक्टिभ टुलका रुपमा रहेको मोबाइललाई विलासिताको साधनका रुपमा लिनाले समग्र उत्पादकत्वमा ह्रास ल्याउन सक्ने पक्ष भुलिनु हुँदैन । आजको अवस्थामा स्मार्टफोन इन्टरनेट र सञ्चारमा आममानिसको पहुँच बढाउने औजार हो भन्ने सबैले बुझ्न जरुरी छ ।

एमडीएमएस लागू हुन नसकी रहेको अवस्थालाई कसरी लिनुहुन्छ ?
यो खुला सीमा भएको नेपालजस्तो बजारका लागि अपरिहार्य आवश्यकता हो । एकतर्फ करका दरहरु उच्च छन्, अर्कातर्फ खुला सिमाना छ । यसले निर्वाध रुपमा मोबाइलको चोरीपैठारी हुँदै आएका छन् । जसको नियन्त्रणमार्फत मात्र राज्यले पाउनुपर्ने ठूलो परिमाणको राजस्वमा वृद्धि हुने देखिन्छ । विदेशबाट आउने यात्रुको साथमा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत हुने चोरीपैठारी पनि निक्कै ठूलो संख्यामा छ । खुला सिमानाका कारण हुने आपराधिक गतिविधि नियन्त्रण र देशभित्रै मोबाइल हराउने, चोरी हुनेजस्ता गतिविधि नियन्त्रणमा समेत एमडीएमएसले सकारात्मक भूमिका खेल्ने हुँदा ढिलोचाँडो यो लागू हुनैपर्छ । तर, देशमा रेमिटेन्स पठाउन योगदान गर्दै देशको कुल गार्हस्थ उत्पादकत्वमै वृद्धि गर्न सघाउ पु¥याउँदै आएका वैदेशिक रोजगारीमा गएकाले आफ्नो साथमा ल्याउने मोबाइल समेतलाई प्रभावित पारेपछि लागू भइसकेको एमडीएमएस प्रणाली कार्यान्वयनमा जटिलता देखिएको हो । मलाई लाग्छ राज्यले ठोस पद्धति निर्माण गरी ऐन कानुन तर्जुमा गरेर यसलाई थप प्रभावकारी बनाई उपयोगमा ल्याउनेछ ।

नेपाली बजारमा सामसङ कहाँ छ ?
विश्व स्मार्टफोन बजारको नम्बर एक ब्रान्ड सामसङले नेपाली बजारमा निरन्तर आफ्नो प्रभुत्व कायम गर्न सफल हुँदै आएको छ । स्मार्टफोन प्रविधिमा निरन्तर नौला आविष्कार र अन्वेषणका माध्यमले बजारमा नेतृत्वदायी भूमिका बनाउन सफल सामसङ नेपाली उपभोक्तामाझ सर्वाधिक लोकप्रिय ब्रान्ड हो ।

नेपाली मोबाइल बजारको विकास र विस्तारमा सामसङले कस्तो भूमिका खेल्दै आएको छ ?
देशकै सर्वाधिक ठूलो स्मार्टफोन भएको नाताले यस क्षेत्रको विकास विस्तार र संवधद्र्धनमा पक्कै पनि महत्वपूर्ण भूमिका हुनैपर्छ । इनोभेटिभ र गुणस्तरीय उत्पादनमा सामसङ निरन्तर अग्रस्थानमा छँदैछ, ब्रान्डको डीएनएमै यो आउँछ । हामीले स्थानीयस्तरमा उपभोक्ता सेवामा प्राथमिकता दिने र जनचेतना अभिवृद्धिमा आफूलाई सक्रिय तुल्याउने कार्य गर्दै आएको छ । हामीले स्मार्टफोनका उपभोक्तालाई उपभोक्ता सेवाका क्षेत्रमा अतुलनीय सेवा प्रभाव गर्दै आएका छौं भने उत्पादनको गुणस्तरीयता, सेवा र सुविधाका सन्दर्भमा बजार र उपभोक्तालाई निरन्तर सुसूचित गरिरहेका छौं । नेपाली स्मार्टफोन बजारमा पारदर्शी मूल्य, अनिवार्य भ्याट बिलको व्यवस्था र स्वस्थ प्रतिस्पर्धालाई निरन्तर पक्षपोषण गरिरहेका छौं । हामीले विश्व बजारसँग तुलनायोग्य र प्रतिस्पर्धी मूल्य आफ्ना उत्पादनहरुमा कायम गर्दै आएका छौं । हामीले स्थानीय स्रोत साधनको अधिकतम उपयोग र स्थानीय आवश्यकता परिपूर्तिमा प्राथमिकता दिएका छौं ।


प्रकाशित मिति : २०७९ फाल्गुन ६, शनिबार गते

धेरै पढिएको

ताजा समाचार