ब्रान्डिङ आधुनिक बजारीकरणको अपरिहार्य औजार हो


प्रकाश सुवेदी
मार्केटिङ म्यानेजर, साओमी नेपाल

तपाईंको बुझाइमा ब्रान्डिङ के हो ?
ग्राहकले बुझ्ने र पहिचान गर्ने गरी कुनै पनि वस्तु वा सेवालाई प्रवद्र्धन गर्न सक्नु नै ब्रान्डिङ हो भन्ने मेरो बुझाइ छ । खुला बजार र अर्थ व्यवस्था अंगालेकाले आफ्नो वस्तु वा सेवाको ब्रान्डिङ नगर्दा प्रतिस्पर्धीसँग पछाडि परिने भएकाले आजको आधुनिक बजारीकरणको अपरिहार्य औजारको रुपमा ब्रान्डिङलाई लिइन्छ । ब्रान्डिङ र मार्केटिङ सधैँ सँगै जोडिएर आउँछन् । आजको प्रतिस्पर्धी बजारमा उपयुक्त ब्रान्डिङ गर्न नसकिएमा सामानको गुणस्तर र विशेषता जस्तो भए पनि बजारमा आफूलाई स्थापित गराउन असम्भव छ । बजारमा कतिपय उत्पादन ब्रान्डिङकै भरमा ज्यादै सफल भएका र कतिपय हुनुपर्ने भन्दा बढी हाइप्ड भएका उदाहरणहरुले पनि आजको जमानामा ब्रान्डिङको महत्व उजागर गर्छ ।

तपाईंले त विभिन्न ब्रान्डहरुका लागि काम गर्नुभयो, नेपालमा प्रयोग गरिएका ब्रान्डिङका पद्धति र लगानीको कति प्रतिफल ब्रान्डहरुले पाएजस्तो लाग्छ ?
नेपाल बजारका दृष्टिकोणले सानो आकारको बजार भनिन्छ । आर्थिक दृष्टिकोणले पनि ब्रान्डिङका लागि संसारकै महङ्गो मध्येको बजारका रुपमा नेपाललाई लिइन्छ । म धेरै बहुराष्ट्रिय कम्पनीहरुमा विभिन्न समयमा रहेर काम गरेको छु । हामीले जहिले पनि नेपालमा मार्केटिङका लागि गरिएको खर्च बढी भयो भन्ने गुनासो सुन्नु परेको छ । तथ्याङ्कहरुले पनि त्यही देखाउँछन् । नेपालमा ब्रान्डिङका लागि राज्यको सहयोगी भूमिका छैन । विभिन्न नीतिगत परिवर्तन र प्रयोगात्मक प्रणालीले पनि धेरै असर पारिरहेको हुन्छ । जस्तो स्थानीय सरकारको रुपमा नगरपालिकाले होर्डिङ बोर्ड राख्ने नीति बर्सेनि परिवर्तन गरिरहन्छ । जसले विज्ञापन एजेन्सीको लागत र अनिश्चितता बढाउँदा विज्ञापन दाताको लागत स्वतः अस्वाभाविक रुपमा बढ्न गएको छ । अर्कातर्फ हाम्रो भौगोलिक विकटताका कारण हामी सबै किसिमका उपभोक्तामाझ पुग्न निक्कै असहज र खर्चिलो पनि छ । त्यसैले धेरै अवस्थामा ब्रान्डिङमा गरिएको खर्च र पद्धतिले अपेक्षाकृत लाभ दिन नसकेको मेरो पनि अनुभव छ । मैले चौधरी समूहबाट सुरु गरेको आफ्नो मार्केटिङको यात्रा चिनिया स्मार्टफोन ब्रान्ड भिभो हुँदै अहिले साओमीमा छु । यी तीनै ठूला व्यावसायिक प्रतिष्ठानमा मैले ब्रान्डिङलाई नजिकबाट नियाल्ने मौका पाएको हो । जसमा साझा चुनौति भनेकै नेपालको बजारको आकार र त्यो पनि भौगोलिक विकटताका माझ छरिएर रहनु हो । साना ब्रान्डहरुलाई त छरिएका बजारमा पुग्नै कठिन छ, ब्रान्डिङको त कुरै नगरौं । त्यसैले पनि नेपाली बजारमा ब्रान्डिङमा गरिएको खर्च अनुसारको प्रतिफल प्राप्त नहुँदा ब्रान्डिङका नयाँ र आक्रामक पद्धतिहरुको प्रयोग हुन नसकेको देखिन्छ ।

तपाइ संलग्न भएको तीन फरक ब्रान्डको अनुभव कस्तो रह्यो ?
पहिलो ब्रान्ड चौधरी समूह थियो । चौधरी समूहमा चाहिँ जुनसुकै ब्रान्ड र सामग्रीको प्रवद्र्धन गर्दा समूहको लिगेसी हेर्नुपथ्र्याे, समावेशिता र सबै ठाउँमा सानै भए पनि सहभागिता हुनैपथ्र्यो, सामाजिक उत्तरदायित्वको पक्ष पनि हेर्नै पथ्र्यो, सम्बन्ध र जनसम्पर्कका दृष्टिकोणले पनि बजेट छुट्याइएको हुन्थ्यो भने भिभोको ब्रान्डिङ निक्कै पृथक थियो । संसारको पाँच ठूला मोबाइल उत्पादकमध्येको भिभो आफूलाई ठूलो देखाउनु पर्ने स्ट्राटेजीमा रहेको थियो । त्यसैले थोरै तर मुख्य प्रायोजकको रुपमा ब्रान्डिङ गर्ने रणनीतिमा कम्पनी रहेको थियो । हामीले एकपल्ट पूरै न्युरोड भिभोमय बनाएका थियौं । पत्रिकामा होस् या होर्डिङ मुख्य स्थान नपाए भिभो जाँदै जाँदैनथ्यो ।
अहिले म साओमीमा छु । ब्रान्डिङका सन्दर्भमा यो निक्कै फरक छ । साओमीको मार्केटिङको छुट्टै रणनीति छ । थ्री स्ट्राटेजीका रुपमा अनेस्ट प्राइसिङ, बेस्ट स्पेक्स र बेस्ट प्रोडक्टलाई प्रमुख मार्केटिङ टुल्सका रुपमा साओमीले आफूलाई अग्रसर गराएको छ । इन्नोभेसन फर एभ्रिवान स्लोगनका साथमा अगाडि बढेको साओमीले आफ्ना ग्राहकलाई ग्राहकमात्र होइन ‘मि फ्यान’ भन्छ । त्यसैले मार्केटिङ र ब्रान्डिङ भन्दा पनि साओमीले उत्पादनको गुणस्तर र ग्राहक सन्तुष्टिलाई अग्रस्थानमा राख्ने गर्छ । मलाई लाग्छ ब्रान्ड भ्यालु र बजारको आकारको तुलनामा ब्रान्डिङ र मार्केर्टिङमा साओमी सबैभन्दा कम खर्च गर्ने ब्रान्ड हो भन्दा फरक पर्दैन । नेपालमा मात्र होइन साओमीको ग्लोबल पोलिसी नै प्रोडक्ट ओरियन्टेड हो ।

पछिल्ला दिनहरुमा डिजिटलतर्फ मोडिएको ब्रान्डिङलाई कसरी लिनुहुन्छ ?
आफूले चाहे अनुसारको खर्च गरे पुग्ने र आफ्नो रिचको तथ्यांक पनि प्राप्त हुने भएकाले डिजिटल ब्रान्डिङ धेरैको प्राथमिकतामा परेको हो । खासगरी साना र मझौला आकारका भेन्चरहरुका लागि यो वरदान नै साबित भएको छ । यद्धपि पत्रपत्रिका, टेलिभिजन आदिमा गरिने एटीएल र होर्डिङ बोर्ड, एक्स्पो वा कुनै पनि एक्टिभेसनका रुपमा गरिने बीटीएल ब्रान्डिङको महत्व पनि आज उत्तिकै छ, उस्तै छ । ठूला ब्रान्डहरु र कम्पनीले यसमा निरन्तरता दिएकै छन् । कोभिडको महामारीलगत्तै अलि कम भएको एटीएल अहिले पुनः पुरानै लयमा फर्किसकेको देखिन्छ । तर एटीएल र बीटीएलको डेटा प्राप्त नहुने भएकाले पनि यसमा धेरैको झुकाव कम हुँदै गएको र डिजिटल क्षेत्रको प्रभाव भने बढ्दो छ । सोसल मिडियाको बढ्दो प्रभाव र प्रयोगले यो हुनु स्वभाविक पनि हो ।

साओमीमा यहाँको ब्रान्डिङ यात्रा कस्तो छ ?
अहिले पनि नेपालमा इन्टरनेटको पहुँच सबैतिर छैन । झण्डै साठी प्रतिशत मानिस अझै पनि इन्टरनेटको सहज पहुँचमा छैनन् । त्यसैले स्मार्टफोनको बजार निरन्तर बढ्दो छ । त्यसमाथि पनि साओमीले आज मोबाइल ब्रान्डबाट विस्तारै लाइफस्टायल ब्रान्डका रुपमा आफूलाई स्थापित गराउँदै लगेको छ । साओमीको पोर्टफोलियोमा अहिल्यै नेपालमा नआएका सयौं उत्पादनहरु छन् भने साओमीले दिन प्रतिदिन नयाँउत्पादनहरु बजारमा ल्याइरहेको छ । यसले मेरा लागि ब्रान्डिङ र मार्केटिङका दृष्टिकोणले हरेक दिन नयाँ र उत्साहप्रद रहेका छन् भन्नुपर्छ । फ्ल्यागसिप मोबाइल फोन बिक्रीको रणनीति बनाउनेले एक्कासी स्मार्ट टुथब्रसको रणनीति बनाउनुपर्छ अनि एअर फ्रायर लन्च गर्नुपर्छ । न त बजारको नेटवर्क मिल्छ न त डाइनामिक्स, त्यति मात्र हो र मिडियाका सम्बन्धित रिपोर्टर समेत अलग हुन्छन् । त्यसैले यो निक्कै रमाइलो र चुनौतिपूर्ण पनि रहँदै आएको छ । हरेक दिन नयाँ कुरा सिक्न पाइरहेको छु, यो निक्कै गज्जबको अनुभव हो ।

यस क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई यहाँ के भन्न चाहनुहुन्छ ?
मार्केटिङ ब्रान्डिङ भनेको जनसम्पर्क र अर्थतन्त्र दुवै जोडिएर आउने क्षेत्र हो । यस क्षेत्रमा सफल हुने व्यक्ति जुनसुकै क्षेत्रमा सहजै अगाडि बढ्न सक्छन् । यो पेसा अपनाउनेले आफ्नो पेसालाई सहजै प्यासनमा बदल्न सक्ने भएकैले यो क्षेत्रमा धेरैको आकर्षण रहेको पनि हो । सूचना र प्रविधिको आधुनिक जमानाको रुपमा लिइने यो एक्काइसौं शताब्दीमा मार्केटिङ र ब्रान्डिङका दायरा निक्कै फराकिलो भएका छन् यो सिमाना रहित, ग्लोबलाइजेसनमा आधारित भएकाले पनि यसमा असीमित अवसरहरु प्राप्त हुने पक्षलाई सदुपयोग गर्नसक्नेले यो क्षेत्रबाट लोभलाग्दो प्रगति हासिल गरेका छन् । तसर्थ यो क्षेत्रमा अवसर खोज्न आउन म सबैलाई प्रेरित गर्न चाहन्छु ।


प्रकाशित मिति : २०७९ फाल्गुन १, सोमबार गते

धेरै पढिएको

ताजा समाचार