सिरियामा विद्रोही समूहहरूले सरकारविरुद्ध विगत केही वर्षयताकै सबैभन्दा ठुलो कारबाही सुरु गरेका छन् । सिरियाली सेना द्रुत गतिमा पछाडि हट्न थालेपछि विद्रोहीहरूले देशको दोस्रो ठुलो सहर एलेप्पो समेत उत्तर–पश्चिमको ठुलो भाग कब्जा गरेका छन् । यस पछि विद्रोही सेनाहरू दक्षिणतिर गए र हामा सहरलाई पनि आफ्नो कब्जामा लिए ।
आफूहरूको अर्को लक्ष्य होम्स सहर हुने विद्रोही सेनाको भनाई छ । दक्षिणमा, जोर्डनको सीमा नजिकै स्थानीय विद्रोही समूहहरूले देरा क्षेत्रको धेरैजसो भाग आफ्नो नियन्त्रणमा लिएका छन् । यो त्यही ठाउँ हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल–असदविरुद्ध विद्रोहको जन्म भएको थियो ।

किन भइरहेको छ युद्ध ?
२०११ मा राष्ट्रपति बसर अल–असदविरुद्ध शान्तिपूर्ण र लोकतन्त्र समर्थक विद्रोह गृहयुद्धमा परिणत भयो । यसले सिरियालाई ध्वस्त पार्यो । यो विद्रोहमा क्षेत्रीय र विश्व शक्तिहरू पनि संलग्न थिए । त्यसयता यस युद्धमा पाँच लाखभन्दा बढी मानिस मारिएका छन् ।
एक करोड २० लाख मानिस घर छोड्न बाध्य भएका छन् । तीमध्ये करिब ५० लाख मानिस अहिले या त शरणार्थी छन् वा विदेशमा शरण खोजिरहेका छन् । विद्रोहीले आक्रमण गर्नुअघि असद सरकारले रुस, इरान र इरान समर्थित मिलिसियाको सहयोगमा देशका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएपछि युद्ध समाप्त भएको जस्तो देखिएको थियो ।
तर, देशका केही ठुला भागहरू अझै पनि सरकारको प्रत्यक्ष नियन्त्रणभन्दा बाहिर नै थियो । यसमा अमेरिका समर्थित कुर्दिश नेतृत्वको सशस्त्र समूहको नियन्त्रण रहेको उत्तरी र पूर्वी क्षेत्रहरू पनि पर्छन् । विद्रोहीहरू कब्जामा आउन बाँकी गढ उत्तरपश्चिमी प्रान्तहरू एलेप्पो र इडलिबमा पनि थिए । उत्तरपश्चिमी क्षेत्रमा इस्लामिक चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएस)को प्रभुत्व रहेको छ । तर सिरियन नेशनल आर्मी (एसएनए) भनेर चिनिने टर्की समर्थित विद्रोही समूहले टर्की सेनाको सहयोगमा उक्त क्षेत्र कब्जामा लिइरहेका थिए ।
के हो हयात तहरीर अल–शाम ?

हयात तहरीर अल–शाम (एचटीएस) अल–नसरा फ्रन्टको नामबाट गठन भएको थियो । गठन भएलगत्तै अर्काे वर्ष समूहले अल–कायदाप्रति आफ्नो निष्ठाको राख्ने प्रतिज्ञा गर्यो । सिरियाली राष्ट्रपति बसर अल–असद विरुद्ध लडिरहेका सबै विद्रोही समूहहरूमध्ये अल–नसरा फ्रन्ट सबैभन्दा घातक र प्रभावकारी थियो । तर यो समूह क्रान्तिको उत्साहले भन्दा जिहादी विचारबाट प्रेरित भएको देखिन्छ । यसको मनोवृत्ति धेरै पटक विद्रोहीहरूको मुख्य गठबन्धन फ्रि सिरियन आर्मीसँगको द्वन्द्वको कारण पनि बन्यो ।
२०१६ मा अल–नासराले अल–कायदासँग आफ्नो सम्बन्ध तोड्यो र एक वर्ष पछि अन्य विद्रोही समूहहरूमा विलयको समयमा यसको नाम हयात तहरीर अल–शाम राखियो । अमेरिका, बेलायत र अन्य धेरै देशहरू अझै पनि एचटीएसलाई अल–कायदाको सहयोगी ठान्छन् र प्रायः यसलाई अल–नसरा फ्रन्ट भन्छन् ।
इडलिब र अलेप्पोमा आफ्ना प्रतिद्वन्द्वी अल–कायदा र इस्लामिक स्टेटका एकाइहरूलाई कुल्चदै एचटीएसले त्यहाँ पर्याप्त ताकत बटुलेको छ । यस क्षेत्रमा शासन गर्न उसले कथित रूपमा सिरियाली मुक्ति सरकार पनि गठन गरेको बताइएको छ । एचटीएसको अन्तिम लक्ष्य असदको पतन र इस्लामिक सरकारको स्थापना हो । तर यस अघिसम्म यसले ठुलो मात्रामा द्वन्द्व सुरु गर्ने प्रयास गर्यो अनि असदको शक्तिलाई फेरि चुनौती दिन बचिरह्यो । तर, अब एचटीएसका नेता अबु मोहम्मद अल जुलानीले सीएनएनसँगको अन्तरवार्तामा विद्रोहीको लक्ष्य असदको शासन अन्त्य गर्नु रहेको बताएका छन् ।
सिरिया र यसका सहयोगीहरूले अहिलेसम्म के गरे ?

राष्ट्रपति बसर अल–असदले विद्रोहीहरूलाई धुलो पिठो पार्ने वाचा गरेका छन् । उनीहरूलाई असदले ‘आतङ्कवादी’ भनिरहेका छन् । डिसेम्बर २ मा इरानी राष्ट्रपति मसुद पेजिस्कियानसँग फोनमा कुराकानी गर्दा उनले अमेरिका र पश्चिमी देशहरूलाई युद्ध उक्साएको आरोप पनि लगाए । पश्चिमी मुलुकहरूले यस क्षेत्रको ‘नक्सा परिवर्तन’ गर्न चाहेको उनको अराेप थियो ।
आफ्नो देश सिरियाली सरकार र त्यहाँका जनताको साथमा दृढताका साथ उभिएको यस कुराकानीका क्रममा इरानका राष्ट्रपतिले भनेका थिए । सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डता कायम राख्नु नै यस क्षेत्रको रणनीतिको आधार रहेको उनले बताएका थिए । अलेप्पो वरपरको अवस्थालाई सिरियाको सार्वभौमसत्तामाथि आक्रमण भएको रुसले ठानेको क्रेमलिन (रूस)का प्रवक्ता दिमित्री पेस्कोभले बताएका थिए । सिरियाली सरकारले यस क्षेत्रमा जतिसक्दो चाँडो स्थिति सामान्य बनाउन र संवैधानिक व्यवस्था पुनर्स्थापित गरोस् भन्ने आफूले चाहेको पनि उनले बताए । रुसले शुक्रबार सिरियामा रहेका आफ्ना नागरिकलाई देश छाड्न आग्रह गरेको थियो ।

