चितवनको लगातार तेस्रो जितको लक्ष्य, कर्णाली पहिलो जितको खोजीमा – धवन र तन्भिरको ऐतिहासिक टक्कर


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा भारतका क्रिकेटर शिखर धवन र पाकिस्तानी क्रिकेटर सोहेल तन्भिर १६ वर्ष पछि कुनै पनि फ्रेन्चाइजि लिगमा आमने सामने हुदैछन् ।

कीर्तिपुरस्थित टियु मैदानमा चितवन राइनोजमा आबद्ध तन्भिर र कर्णाली याक्समा रहेका धवनको टोलीको खेल बिहान ९ बजे पछि सुरु हुनेछ । सन् २००८ काे पहिलाे संस्करणकाे आइपिएलमा दुईबीच टि ट्वान्टी फ्रेन्चाइजि लिगमा पछिल्लो पटक आमने सामने भएका थिए । तन्भिरले पहिलो संस्करणको आइपिएल राजस्थान रोयल्सबाट खेल्दा धबन दिल्ली डियरडेभिल्समा आबद्ध थिए ।

चितवन सुरुवाती २ खेलमा जितका साथ बलियो स्थितीमा रहेको छ । चितवनले काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो । लगातार तेस्रो जित सहित शीर्ष स्थानमा उक्लिने लक्ष्यमा चितवन रहेको छ ।

लगातार दुई खेलमा पराजित कर्णाली पहिलो जितको लक्ष्यमा रहेको छ । पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाडौंसँग कर्णाली पराजित भएको थियो ।

आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ । दोस्रो खेल खेल्दै गरेको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा बलियो योगफलका बाबजुद पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा रहेको छ ।

लगातार दुई खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपिएल पुस ६ गते सम्म चल्ने छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।


प्रकाशित मिति : २०८१ मंसिर २१, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार