सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलोमा पराजित काठमाडौं गुर्खाज र कर्णाली याक्सबीच खेल हुदैछ ।
आजको पहिलो खेलमा कर्णाली र काठमाडौं खेल्न लागेका हुन् । दुईबीचको खेल कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा बिहान ९ बजे पछि सुरु हुनेछ । दुवै टोली पहिलो खेलमा पराजित भएकाले यस खेलमा जितका साथ प्रतियोगितामा पहिलो जित हात पार्न चाहान्छन् ।
काठमाडौं पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । कर्णाली भने जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । काठमाडौं करण केसीको कप्तानीमा रहँदा कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ ।
आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच खेल हुदैछ । टियु क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । लिगमा पहिलो खेल खेल्दै गरेको लुम्बिनी जितका साथ प्रतियोगिता सुरुवात गर्न चाहान्छ ।
विराटनगर लगातार दुई हारसँगै लिगको खराब सुरुवात गरेको छ । यस खेलमा जित निकाल्दै लयमा फर्कने लक्ष्यमा विराटनगर रहेको छ ।
पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।

