राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तहरूलाई प्रश्नैप्रश्न गरेका छन्।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा अख्तियार प्रमुख र आयुक्तहरू उपस्थित छन्।
सोही बैठकमा राप्रपा सांसदसमेत रहेका शाहीले सोधे, ‘अख्तियारले लडाकू शिविरमा मुद्दा किन चलाएन? गिरीबन्धु र तारागाउँ तथा नेपाल आयल निगमको जग्गा प्रकरणमा मुद्दा किन चलाएन? ओम्नी प्रकरणमा किन मुद्दा चलाएन?’
उनले थप प्रकरणमा पनि मुद्दा किन चलाइएको थिएन भनेर सोधे।
‘एनसेलविरुद्ध बोल्दा कुटाइसमेत खाइयो। मुद्दा जितेपछि पनि अख्तियारले किन छानबिन गरेन? सुरेन्द्र भण्डारीले एनसेलमा ६२ अर्ब रुपैयाँको मुद्दा हालिदिनुभयो। अख्तियारलाई मालपानी आएको हो? राष्ट्र बैंकले अनुमति दिएको भन्दै अंशदण्ड रोकियो,’ उनले भने।
साथै कांग्रेस, एमाले जस्तै रास्वपा पनि नियुक्तिमा आफ्ना मान्छे राख्न खोजिरहेको बताए। नियुक्तिहरू खुला प्रतिस्पर्धाबाट गर्न उनले आग्रह गरेका थिए। साथै उनले मन्त्रिपरिषद्को निर्णयमा मुद्दा नलाग्ने व्यवस्था खारेज गरेर ल्याउन पनि आग्रह गरे।

