नेपाल इन्टरनेसनल फिचर फिल्म छनोट समिति-२०२६ ले ९९ औं एकेडेमी अवार्ड (अस्कर) को ‘इन्टरनेसनल फिचर फिल्म’ विधामा नेपालबाट प्रतिस्पर्धा गर्ने फिल्म छनोट प्रक्रिया सुरू गरेको छ।
समितिले सूचना जारी गर्दै मापदण्ड पूरा गरेका नेपाली फिल्मलाई यही भदौ २२ गते (सेप्टेम्बर ७, २०२६) भित्र आवेदन दिन आह्वान गरेको छ। इच्छुक निर्माताले तोकिएको समयसीमाभित्र काठमाडौंस्थित समितिको सचिवालयमा फिल्म दर्ता गराउनुपर्नेछ।
अस्करको प्रतिस्पर्धाका लागि फिल्मले नेपाल सरकारको केन्द्रीय चलचित्र जाँच समितिबाट प्रमाणीकरण पाएको हुनुपर्नेछ। साथै, २०८२ असोज १५ देखि २०८३ असोज १४ (१ अक्टोबर २०२५ देखि ३० सेप्टेम्बर २०२६) सम्म नेपालका व्यावसायिक सिनेमा घरमा रिलिज भएको र लगातार कम्तीमा सात दिन प्रदर्शन भएको हुनुपर्नेछ।
नेपालबाहेक अमेरिका र यसका भूभागबाहेक अन्य देशका व्यवसायिक सिनेमा घरमा टिकटसहित लगातार सात दिन प्रदर्शन भएका फिल्मलाई पनि योग्य मानिनेछ।
उक्त मापदण्ड पूरा नभए अस्करले मान्यता दिएका आधिकारिक अन्तर्राष्ट्रिय फिल्म महोत्सवमध्ये कुनैमा ‘क्वालिफाइङ अवार्ड’ जितेको हुनुपर्नेछ। टेलिभिजन, भीओडी, डीभीडी, इन्टरनेट स्ट्रिमिङ वा एयरलाइन इन्टरटेनमेन्टमार्फत पहिलोपटक रिलिज भएका फिल्म भने छनोटका लागि योग्य हुने छैनन्।
फिल्मका निर्देशक, लेखक वा निर्मातामध्ये कम्तीमा एक जना नेपाली नागरिक हुनुपर्नेछ। साथै, फिल्ममा नेपाली परिवेश र तत्व झल्किएको तथा ५० प्रतिशतभन्दा बढी संवाद नेपाली भाषामा हुनुपर्नेछ। फिल्ममा स्पष्ट बुझिने अंग्रेजी सबटाइटल पनि अनिवार्य गरिएको छ।
छनोटमा परेको फिल्मले अस्करका प्राविधिक मापदण्डसमेत पूरा गर्नुपर्नेछ।
इच्छुक निर्माताले अनलाइन आवेदन फारम भरी आवश्यक कागजात तथा सामग्रीसहित समितिको सचिवालयमा सम्पर्क गर्न सक्ने समितिले जनाएको छ।
९९ औं अस्कर अवार्ड २०८३ फागुन ३० गते (१४ मार्च २०२७) आयोजना हुनेछ।

