आशिका तामाङले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार


काठमाडौँ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेकी छन् ।

कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नपाएको भन्दै उनी बैठक कक्षबाट बाहिरिएकी हुन् ।

सांसद तामाङले ३७ दिनअघि कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको भन्दै उभिएरै विरोध जनाएकी थिइन् । उनले अर्थ मन्त्रालयले बजेट छुट्याए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाएका कारण प्रक्रिया रोकिएको दाबी गरिन् ।

‘परराष्ट्रले कार्यविधि नबनाउँदा आफन्तले लासको आश मारिसके,’ तामाङले भनिन्, ‘सरकारले कि यिनीहरू नेपाली नागरिक होइनन् भन्नुपर्‍यो, नत्र जवाफ नआउन्जेल म उभिइरहन्छु ।’

उनको त्यो भनाइपछि सभामुख डोलप्रसाद अर्यालले सोमबारको बैठकमा तामाङको प्रश्नको जवाफ दिन परराष्ट्र मन्त्रालयलाई ३ दिनभित्र जवाफ दिन रुलिङ जारी गरेका थिए । त्यसको जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबारको बैठकमा दिएका थिए ।

मन्त्रीको जवाफपछि सांसद तामाङले चित्त नबुझेको भन्दै पुनः प्रश्न सोध्न खोजेकी थिइन् । तर, सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीले दिएको जवाफमा पुनः प्रश्न सोध्ने व्यवस्था नरहेको जानकारी गराउँदै उनलाई आसन ग्रहण गर्न आग्रह गरे ।

सभामुखले संसदीय मर्यादा पालना गर्न पटक–पटक आग्रह गरे पनि सांसद तामाङले आफ्नो असन्तुष्टि कायमै राखिन् र विरोधस्वरूप बैठकबाट बाहिरिने निर्णय गरिन् ।

राईको कम्बोडियामा मृत्यु भएको थियो । उनको शव अझै त्यहीँको अस्पतालमा छ ।


प्रकाशित मिति : २०८३ भाद्र २, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार