काठमाडौँ । नेपाली कांग्रेसकी सांसद कमला पन्तले निर्वाचनमा प्राप्त मतलाई मात्र राजनीतिक वैधता र सबै कुराको आधार मान्न नहुने भन्दै एकपटक जितेकै भरमा दम्भ नदेखाउन सरकारलाई कडा चेतावनी दिएकी छन्।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै उनले सत्तारुढ दलहरूले जनमतको घमण्ड गरेर गैरजिम्मेवार बन्न नहुने उल्लेख गरिन्।
सांसद पन्तले प्रधानमन्त्री बालेन्द्र साहले नेपाल–भारत सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्तिको कडा आलोचना गर्दै यस संवेदनशील मुद्दामा परराष्ट्रमन्त्रीको स्पष्टीकरण मात्र पर्याप्त नभएकाले प्रधानमन्त्री स्वयंले आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिइन्। उनले संसद् र देशलाई सही दिशामा लैजानका लागि आपसी सहकार्य, राष्ट्रिय एकता र सहमतिका आधारमा मुलुक अघि बढाउन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई आग्रह गरिन्। राष्ट्रिय सभाको संवैधानिक र राजनीतिक जिम्मेवारी निर्वाह गर्न प्रतिपक्ष सधैँ तयार रहेको स्पष्ट पार्दै उनले संसद्प्रति सरकार पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताइन्।
उनले बैठकमा भनिन्, ‘राष्ट्रिय सभाको भिन्न जिम्मेवारी छ, त्यो जिम्मेवारी निर्वाह गर्न हामी तयार छौँ । तर हामीसँग रहेको प्रधानमन्त्रीप्रतिको आग्रह मेटियो भनेर भन्न सक्दैनौँ । निर्वाचनबाट प्राप्त मतबाट मात्र राजनीतिले छुटकारा पाउँदैन । गाली गर्न सजिलो छ, भूमिका निर्वाह गर्न अत्यन्त गाह्रो छ । निर्वाचनबाट राजनीतिक दलहरूले धेरै मत प्राप्त गरेको हाम्रो इतिहास पनि छ । एक चोटि पाएको मतले धेरै दम्भ देखाउनुपर्ने जरुरी पनि छैन । माइक भेटेपछि धेरै कुरा गरिहाल्नुपर्छ भन्ने पनि छैन । त्यसरी सरकार चलाउन गाह्रो पनि पर्छ । नेपालजस्तो मुलुकले सहकार्य, एकता र सहमतिको आधारमा अगाडि बढ्नुपर्छ ।’
सांसद पन्तले ‘माइक भेट्ने बित्तिकै जे पायो त्यही बोल्ने’ प्रवृत्तिले अन्ततः सरकार सञ्चालनमै गम्भीर सङ्कट पैदा गर्ने र देशलाई नोक्सान पुर्याउने तर्फ सचेत गराइन्। विगतमा अन्य पुराना दलहरूले पनि ठुलो जनमत पाएको इतिहास रहेको स्मरण गराउँदै उनले मतको अहङ्कार नगर्न सुझाइन्।
सरकारले गर्ने सकारात्मक र जनपक्षीय कार्यहरूमा रचनात्मक सहयोग गर्न प्रतिपक्षी दलहरू सधैँ तयार रहेको उल्लेख गर्दै उनले प्रतिपक्षको भूमिका देखि नतर्सिन र जिम्मेवार भएर काम गर्न सरकारलाई आग्रह गरिन्।

