नेपाली माटोमा कोरियन प्रविधि: ३५ करोडको लगानीमा कस्मेटिक ब्रान्ड ‘ORA’ बजारमा


काठमाडौँ, २८ जेठ २०८३ (१० जुन २०२६) ।

नेपालको सौन्दर्य उद्योगमा नयाँ सम्भावना सिर्जना गर्दै बहुराष्ट्रिय गुणस्तरको स्किन केयर ब्रान्ड ORA (ओरा) नेपाली बजारमा आएको छ। कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थलाई नेपाली माटो र वातावरण सुहाउँदो गरी नेपालमै उत्पादन संयोजन (Formulate) गरी यो ब्रान्ड बजारमा ल्याइएको हो।

NK Cosmetics Pvt. Ltd. द्वारा उत्पादित यस नेपाली ब्रान्डको मुख्य उद्देश्य नेपाली उपभोक्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउनु रहेको छ।

३५ करोडको लगानी र उत्पादन क्षमता

कम्पनीले ललितपुरको इमाडोलमा रु. ३५ करोडको कुल लगानीमा अत्याधुनिक उद्योग स्थापना गरेको छ। हाल कम्पनीले ९ वटा प्रमुख उत्पादनहरू बजारमा उपलब्ध गराइरहेको छ भने निकट भविष्यमै थप १० देखि १५ वटा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ। उद्योगको क्षमता विस्तारसँगै भविष्यमा १०० भन्दा बढी विभिन्न प्रकारका कस्मेटिक्स, स्किनकेयर तथा व्यक्तिगत सौन्दर्यका सामग्रीहरू उत्पादन गर्न सकिने क्षमता रहेको कम्पनीले जनाएको छ।

नेपाली र कोरियन उद्यमीहरूको संयुक्त प्रयास

‘ORA’ ब्रान्डको स्थापना नेपाली र कोरियन उद्यमीहरूको संयुक्त सहकार्यमा भएको हो। कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघ (NRNA) का पूर्व अध्यक्ष श्री विनोद कुँवरले गरिरहनुभएको छ। त्यस्तै, कोरियन स्किन केयर उद्योगमा लामो अनुभव सँगाल्नुभएका तथा K-Beauty क्षेत्रका विज्ञ श्री Jae Ho Hur ले यसमा प्राविधिक ज्ञान, अनुभव र उत्पादन विकासको जिम्मेवारी सम्हाल्नुभएको छ।

“हाम्रो दीर्घकालीन लक्ष्य नेपाललाई गुणस्तरीय कस्मेटिक तथा स्किन केयर उत्पादनको केन्द्रका रूपमा विकास गर्नु हो। ORA लाई दक्षिण एसिया हुँदै विश्व बजारसम्म पुर्‍याउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ।”

कम्पनी व्यवस्थापन

ब्रान्ड एम्बेसेडरमा अभिनेत्री परीक्षा लिम्बू

कम्पनीले आफ्नो ब्रान्ड एम्बेसेडरका रूपमा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री सुश्री परीक्षा लिम्बूसँग सहकार्य गरेको छ। उहाँको व्यक्तित्व, लोकप्रियता तथा सकारात्मक प्रभावले ORA ब्रान्डलाई अझ व्यापक रूपमा उपभोक्तामाझ पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ। कम्पनीका अनुसार ORA केवल एउटा उत्पादन मात्र नभई उपभोक्तासँग भावनात्मक रूपमा जोडिएको विश्वास, गुणस्तर र आत्मविश्वासको ब्रान्ड हो।

चार महिनामै ‘दशौँ लाख’ उपभोक्ताको साथ

बजारमा आधिकारिक रूपमा उपलब्ध भएको छोटो अवधिमै (विगत चार महिनामा) ORA ले देशैभरका अधिकृत वितरक, होलसेल नेटवर्क, खुद्रा पसल तथा विभिन्न अनलाइन प्लेटफर्ममार्फत बलियो उपस्थिति जनाएको छ। यस अवधिमा दशौँ लाख प्रयोगकर्ताहरू माझ पुग्न सफल भएको भन्दै कम्पनीले उत्साह व्यक्त गरेको छ। उपभोक्ताहरूले यसको गुणस्तर, प्रभावकारिता र मूल्यको सन्तुलनप्रति देखाएको विश्वासले कम्पनीलाई थप उत्साहित बनाएको छ।

अर्थतन्त्र र रोजगारीमा योगदान

कम्पनीमा हाल व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारीहरू कार्यरत छन्। औद्योगिक विकासले मात्र दीर्घकालीन आर्थिक समृद्धि सम्भव हुने विश्वास राख्दै ORA ले आगामी दिनमा:

  • रोजगारी सिर्जना र सीप विकास गर्ने,

  • सरकारी राजस्व वृद्धि र GDP मा योगदान दिने,

  • भविष्यमा निर्यात प्रवर्द्धनमार्फत विदेशी मुद्रा आर्जन गरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने,

  • र, विदेशी उत्पादनमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रेस मिटको अन्त्यमा, ORA परिवारले विगत चार महिनामा प्राप्त भएको अपार माया र विश्वासका लागि सम्पूर्ण ग्राहक, वितरक, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। आगामी दिनमा अझ उत्कृष्ट, सुरक्षित र विश्वस्तरीय उत्पादनहरू नेपाली बजारमा ल्याउने प्रतिबद्धता कम्पनीले दोहोर्‍याएको छ।


प्रकाशित मिति : २०८३ जेष्ठ २७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार