फिल्म ‘बुकी’ को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ।
विवश कुमार माझी र मोहन केसीको निर्देशनमा तयार फिल्मको निर्माण पक्षले बुधबार फिल्मका मुख्य पात्रहरूको झलक सार्वजनिक गर्दै जापान प्रिमियरको मिति र स्थान समेत तय गरेको हो।
फिल्मको ‘वर्ल्ड प्रिमियर’ सन् २०२६ मे ६ तारिख (बुधबार) जापानको ओसाका सहरमा हुने जनाइएको छ। ओसाकास्थित ‘मिनातो कुमिन सेन्टर’ मा बेलुका ५ः३० बजेदेखि ९ः३० बजेसम्म विशेष प्रदर्शनी आयोजना गरिने पोस्टरमा उल्लेख छ।
सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सुरक्षा पन्त, देबेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा भलिबलको नेट, कोर्ट र खेलाडीहरू देखाइएको छ। जसले यो फिल्म खेलकुद (विशेष गरी महिला भलिबल) र संघर्षको कथामा आधारित रहेको संकेत गर्छ। साथै, हिमाली भूगोल र त्यहाँको जनजीवनलाई पनि पोस्टरमा समेटिएको छ।
पोस्टरमा अभिनेत्री सुरक्षा पन्त खेल पोसाकमा ‘नेपाल’ लेखिएको जर्सी लगाएर हातमा ट्रफी उचाल्दै विजयको उत्सव मनाइरहेको अवस्थामा देखिन्छिन्। यसले फिल्ममा उनको एउटा संघर्षपूर्ण र प्रेरणादायी खेल यात्रा रहेको संकेत गर्छ। अर्की अभिनेत्री रोशनी कार्की साधारण र हँसिलो लुक्समा प्रस्तुत छिन्।
त्यस्तै, पछिल्लो समयका चर्चित गायक तथा अभिनेता देबेन्द्र बब्लु जर्सी लगाएर एक गम्भीर चरित्रमा देखिएका छन्। उनको लुक्सले उनी फिल्ममा कुनै जिम्मेवार खेलाडी वा भूमिकामा रहेको संकेत गर्छ। दिग्गज अभिनेता प्रकाश घिमिरे ढाका टोपीमा एक अभिभावक वा मार्गदर्शकको रूपमा देखिएका छन् भने लक्ष्मीनाथ तिमलसिना रातो ट्रयाकसुटमा खेल प्रशिक्षक वा टिम लिडरको हाउभाउमा प्रस्तुत छन्।
‘बुकी’ हिमाली क्षेत्रका पाटनहरूमा वर्षाको समयमा फुल्ने एक विशेष फूल हो। निर्माण पक्षका अनुसार यो फिल्मले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्नेछ।
हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा निशा बजगाईं, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी लगायतका कलाकारको समेत अभिनय छ।
लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा फिल्मको निर्माता हुन्। कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन्। विकास गन्धर्भको डिओपी रहेको फिल्म भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।
हालसम्म फिल्मको प्रदर्शन मिति आधिकारिक रूपमा तय नभए पनि निर्माण पक्षले सन् २०२६ भित्र देशभरका हलमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

