राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका १० विषयगत समिति र एक संयुक्त समिति सभापतिको उम्मेदवार टुंग्याएको छ।
समिति सभापतिका लागि शुक्रबार निर्वाचन मिति तोकिएको छ। त्यसका लागि आज अपराह्न ४ बजेसम्म सभापतिका लागि मनोनयन दर्ताको कार्यसूची छ।
रास्वपाले बिहीबार नै दलको बैठक बसेर ११ जना उम्मेदवार टुंगो लगाएको हो। सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरेको छ।
संसदीय दल बैठक सुरू हुनुअघि रास्वपा सभापति रवि लामिछाने, दल नेता तथा प्रधानमन्त्री बालेन शाहबीच छुट्टै छलफल भएको थियो। दुई नेताले छलफल गरेर समितिको सभापतिका उम्मेदवार सहित मुख्य सचेतक र सचेतकहरू पनि टुंगो लगाएका हुन्।
मुख्य सचेतकमा गोरखा–२ बाट निर्वाचित सांसद तथा पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटी र सचेतकहरूमा समानुपातिक सांसदद्वय प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल नियुक्त भएका छन्।
परियार विवेकशील साझाबाट रास्वपामा समाहित भएका हुन्। विवकेशील साझा छँदा उनी उपाध्यक्ष थिए। रास्वपामा उनी अहिले केन्द्रीय सदस्य हुन्। धिताल पनि रास्वपा केन्द्रीय सदस्य नै हुन्।
प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद भएकाले उनीहरूले सभापति उम्मेदवार बनाएका सांसद निर्वाचित हुने निश्चित छ।
रास्वपाले कानुन, न्याय तथा मानवअधिकार समिति सभापतिको उम्मेदवार बनाएकी समीक्षा बाँस्कोटा पनि विवेकशील साझा पार्टीबाटै समाहित भएकी हुन्। विवेकशील साझामा छँदा उनी महासचिव थिइन्। बास्कोटा २०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन्। उनले त्यति बेला ६४७ मत ल्याएकी थिइन्।
निर्वाचनअघि विवेकशील साझा रास्वपामा समाहित भएको थियो। बाँस्कोटा समानुपातिक सांसद थिइन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा रास्वपाले अशोककुमार चौधरीलाई उम्मेदवार बनाउने भएको छ। सुनसरी–३ बाट निर्वाचित चौधरी पार्टी केन्द्रीय सदस्य हुन्। उनी २०७९ सालमा पनि सांसद थिए। त्यति बेला उनी समानुपातिबाट सांसद चुनिएका थिए।
पूर्वाधार विकास समिति सभापतिको उम्मेदवार आशिष गजुरेल बन्ने भएका छन्। गजुरेल सिन्धुली–२ बाट निर्वाचित गजुरेल पूर्वाधारविद् पनि हुन्।
उनीसँग यसअघि इन्टरमोडल यातायात विकास समिति र लगानी बोर्डमा काम गरेको अनुभव छ। यातायात विज्ञको छवि बनाएका उनलाई विषयवेत्ताका हिसाबले समितिको नेतृत्वमा पठाउन लागिएको हो।
महिला तथा सामाजिक मामिला समितिको सभापति उम्मेदवार आकृति अवस्थी बनेकी छन्। उनी जेनजी आन्दोलनका घाइते परिवारको प्रतिनिधित्व गर्छिन्। डडेलधुरा अमरगढीकी उनी जेनजी आन्दोलनका घाइते मुकेशकी दिदी हुन्। उनी पनि समानुपातिकबाटै सांसद छानिएकी थिइन्।
राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा हरि ढकाल उम्मेदवार बनेका छन्। चितवन–१ बाट निर्वाचित ढकाल यसअघि पनि प्रत्यक्ष निर्वाचित सांसद नै थिए।
दोहोर्याएर सांसद जिते पनि अरू भूमिका नपाएका ढकाललाई अनुभवी सांसदको हिसाले समितिको नेतृत्वमा पठाउन लागेको रास्वपाले बताएको छ। उनी पार्टीका केन्द्रीय सदस्य हुन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा ओजश्वी शेरचन उम्मेदवार बन्ने भएकी छन्।
शेरचनसँग दुई दशकभन्दा बढी समय बायोकेमेस्ट्री विषय अध्यापन गरेको अनुभव छ। अनुसन्धान र रोग पहिचानमा समेत क्षमता विकास गरेकी शेरचनलाई रास्वपाले समानुपातिक सांसद बनाएको थियो।
उनले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमडी गरेकी हुन्। लामो समय नेपाल मेडिकल कलेजमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत थिइन्।
संसदीय सुनुवाइ विशेष समितिमा बोधनारायण श्रेष्ठ सभापतिको उम्मेदवार बन्ने भएका छन्। श्रेष्ठ धादिङ–२ बाट निर्वाचित सांसद हुन्। उनी राष्ट्रसंघ लगायत अन्य सामाजिक संघ संस्थामा लामो समय आबद्ध थिए। समाजसेवाका क्षेत्रमा विशिष्ट परिचय बनाएका श्रेष्ठ निर्वाचनभन्दा केही समयअघि मात्रै रास्वपा प्रवेश गरेका हुन्।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी निर्वाचित भएका छन्। बारा–४ बाट प्रत्यक्ष निर्वाचित उनी निर्वाचनको मुखैमा रास्वपा प्रवेश गरेका हुन्। त्यसअघि उनी मधेस प्रदेश सांसद थिए। मन्त्रीसमेत भएका थिए।
तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित अन्सारीले रूपान्तरित नेपाली कम्युनिस्ट पार्टीको कार्यशैली, नेतृत्वको सोच देखेर पार्टी परित्याग गरेको बताएका थिए।
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा गणेश कार्की उम्मेदवार बन्ने भएका छन्।
स्थापनादेखि नै रास्वपा आबद्ध उनी अघिल्लो पटक नै सांसद बन्ने तयारीमा थिए। त्यति बेला समानुपातिक सूचीबाट सांसद चुनिन नसकेका कार्की यसपटक मोरङ–३ बाट प्रत्यक्ष उम्मेदवार भई निर्वाचित भएका थिए।
अध्येता समेतको छवि बनाएका उनले लेखनसँगै राजनीति कर्ममा पनि समानान्तर परिचय बनाएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापतिको उम्मेदवार बनेकी सुम्निमा उदास पूर्वपत्रकार हुन्। उनले अन्तर्राष्ट्रिय समाचार संस्था ‘सिएनएन’ मा काम गरेको अनुभव छ।
उनी सिएनएनको पूर्वदक्षिण एसिया प्रमुखसमेत भएकी थिइन्। अन्तर्राष्ट्रिय सम्बन्धको आयाम पर्गेल्न सक्ने बुझेर नै रास्वपाले उक्त जिम्मेवारी दिएको हो। उनी पछिल्लो समय सम्पदा संरक्षण अभियानमा समेत आबद्ध थिइन्।
अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी उम्मेदवार बन्ने भएका छन्। उनी पनि विषयविज्ञ हुन्।
नेपालको वित्तीय क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका उनी वरिष्ठ बैंकिङ तथा विकास व्यवसायीका रूपमा परिचित छन्। आर्थिक सुधार, नेतृत्व र समावेशी विकासका क्षेत्रमा काम गर्ने बुढाथोकीलाई रास्वपाले अर्थशास्त्री, विकास चिन्तक र सामाजिक कार्यकर्ताका रूपमा चिनाएको छ।
वित्तीय क्षेत्र सुधार, विकास नीति र नेतृत्व–संचालित आर्थिक वृद्धिमा विशेषज्ञता हासिल गरेकैले समितिको सभापति बन्न उपयुक्त ठहर्याएको रास्वपाका एक नेताले बताए।
उनी ग्रामीण र सहरी अर्थतन्त्र, स्थानीय उत्पादन, उद्यमशीलता र बजारहरूलाई जोड्न सक्रिय रूपमा काम गर्ने व्यक्तिका रूपमा चिनिन्छिन्।
त्यस्तै मानव–केन्द्रित विकास, नैतिकता, सहयोग र दिगो समृद्धिका क्षेत्रमा पनि उनले काम गरेका छन्। खासगरी उनले आफूलाई विकास र सामाजिक जागरूकता अभियानका संस्थापकका रूपमा चिनाउँदै आएका छन्।

