२० वर्षको वैदेशिक अनुभवपछि स्वदेशमै व्यवसाय: भक्तपुरमा ‘रोजा सौन्दर्य तालिम केन्द्र’ को दोस्रो शाखा विस्तार


भक्तपुर,बैशाख ४ गते । भक्तपुरको लोकन्थलीस्थित कुमारी बैंक भवनको छैटौं तलामा रोजा सौन्दर्य तथा कपाल सजावट तालिम केन्द्रको दोस्रो शाखा सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा गायक तथा संगीतकार आनन्द कार्की तथा विशेष अतिथिका रूपमा पूर्व मिस नेपाल २००० उषा खड्गीको उपस्थिति रहेको थियो। साथै कार्यक्रममा सौन्दर्यकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

संस्था सह–सञ्चालक निर्मला फुयाल बोहोरा विगत २० वर्षदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै आउनुभएकाे छ । उहाँले यसअघि ललितपुरको लगनखेलस्थित प्रयाग पोखरी नजिक, एनआईएमबी बैंक अगाडि पहिलो शाखा सञ्चालनमा ल्याउनु भएकाे थियाे । उक्त शाखामार्फत हाल ९ जनालाई रोजगारी प्रदान गरिएको बताइएको छ। छाला तथा सौन्दर्यसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय प्रमाणपत्रसहित डिप्लोमा हासिल गर्नुभएकी बोहोरासँग यस क्षेत्रमा राम्रो अनुभव रहेको छ।

यसैगरी, संस्थाका प्रबन्ध निर्देशक एमडी बोहोरा करिब २० वर्ष संयुक्त अरब इमिरेट्समा कार्यरत रही हालै मात्र स्वदेश फर्किनुभएकाे हाे । उहाँले सुरुमा सहयोगीका रूपमा काम सुरु गरी पछि विक्रेताका रूपमा अनुभव हासिल गर्नुभएकाे थियाे । युएई बसाइँका क्रममा उहाँले अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षको जिम्मेवारीसमेत सम्हानुभएकाे भने विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्नुभएकाे थियाे ।

करिब दुई महिनाअघि नेपाल फर्किएका बोहोराले विदेशमा आर्जन गरेको अनुभवलाई स्वदेशमै प्रयोग गर्दै व्यवसाय विस्तार गरेको बताउनुभएकाे छ ।

उद्घाटन कार्यक्रममा सञ्चालकद्वयले युवायुवतीलाई स्वदेशमै सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित सौन्दर्य तथा कपाल सजावटसम्बन्धी सीपमूलक तालिम प्रदान गर्ने लक्ष्य रहेको बताउनुभएकाे छ । संस्थाले श्रृंगार, कपाल सजावट लगायतका व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ।

नयाँ शाखा विस्तारसँगै दोस्रो शाखामार्फत २२ जना महिलालाई रोजगारी प्रदान गरिएको सञ्चालक पक्षले जनाएको छ। यससँगै संस्थाले सीपमूलक तालिम र रोजगारी सिर्जनालाई सँगसँगै अघि बढाउँदै थप व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।


प्रकाशित मिति : २०८३ बैशाख ३, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार