ओखलढुङ्गा, चैत ९ गते । पछिल्लो साता परेको वर्षा र हावाहुरीका कारण ओखलढुङ्गामा कृषि क्षेत्रमा करिब २८ लाख ८८ हजार रुपियाँ बराबरको क्षति भएको छ ।
कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका सूचना अधिकारी इन्द्र राईका अनुसार तरकारी खेतीका लागि बनाइएका ३९ वटा संरचना तथा प्लास्टिक टनेलमा क्षति पुगेको हो । टनेललगायतका संरचना भत्किनु तथा हावाले उडाउँदा मात्रै करिब २४ लाख ४० हजार रुपियाँ बराबरको नोक्सानी भएको जनाइएको छ ।
त्यस्तै, ०.६१ मेट्रिक टन तरकारी बाली नष्ट हुँदा करिब ४८ हजार रुपियाँ बराबरको क्षति भएको छ । हावाहुरीका कारण टनेल उड्दा भित्र लगाइएका गोलभेँडा, काउली, बन्दा र खुर्सानी लगायतका बालीमा असर परेको केन्द्रले जनाएको छ । हावाहुरीले व्यावसायिक तरकारी खेती गर्ने किसानहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
मानेभन्ज्याङ गाउँपालिका –४ पंखुका किसान नारायणप्रसाद राईले व्यक्तिगत तथा अनुदानबाट निर्माण गरिएका टनेल हावाहुरीले उडाउँदा ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँले सरकार तथा सरोकारवाला निकायबाट राहत उपलब्ध गराउन माग गर्नुभयो ।
हालसम्मको तथ्याङ्कअनुसार २९ जना कृषकका तरकारी खेती तथा संरचनामा क्षति पुगेको छ । सिद्धिचरण नगरपालिका, मानेभन्ज्याङ गाउँपालिका, मोलुङ गाउँपालिका र चिशंखुगढी गाउँपालिका लगायतका क्षेत्रमा हावाहुरी र वर्षाले बढी क्षति गरेको जनाइएको छ ।
यो प्रारम्भिक विवरण मात्र भएकाले क्षतिको परिमाण अझ बढ्न सक्ने अनुमान गरिएको छ । प्रभावित किसानले राहत र पुनःस्थापनाको माग गरेका छन् । अधिकांश कृषकले बाली बिमा नगरेका कारण क्षतिपूर्ति पाउन समस्या भएको छ । कृषि ज्ञान केन्द्रले क्षतिको विस्तृत विवरण संकलन गरी राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जनाएको छ ।

