पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका छन्।
सोमबार मध्याह्न पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनालसहित एकीकृत समाजवादीका पदाधिकारीहरू बबरमहलस्थित सडकमा जारी शिक्षक आन्दोलनमा पुगेका हुन्।
पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले भने, ‘शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन हामी आएका हौं।’
नेपाल शिक्षक महासंघको आह्वानमा चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका छन्। आन्दोलनको आज २७ औं दिन हो।
विगतमा सरकार र महासंघबीच भएका सहमति समेट्दै तत्काल विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूको माग छ।
एकीकृत समाजवादीका नेताहरू शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका बेला केही शिक्षकहरूले भने आन्दोलनमा आउनभन्दा पनि संसदमै भूमिका खेल्न आग्रह गरेका थिए।