एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ ।

आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ ।

बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा स्थान पक्का गरिसकेको छ। लुम्बिनी यसअघि नै एनपिएलको दौडबाट बाहिरिसकेको थियो। जनकपुर शुक्रवार चितवन राइनोजसँग पराजित भएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स पनि उपाधि अभियानबाट अगल भएको छ ।

May be an image of basketball and text

अब सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, कर्णाली याक्स र चितवन मध्ये ३ टोली प्ले अफमा पुग्नेछन् ।

प्लेअफको दौडमा रहेका ४ टोलीको स्थिति

सुदूरपश्चिम रोयल्स

४ मध्ये सुदूरपश्चिमलाई प्लेअफमा छनोट हुन सबैभन्दा सहज स्थिति छ । सुदूरपश्चिमले लिग चरणका २ खेल्न बाँकी छ । सुदूरले ५ खेलमा ८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

टोलीले आइतवार र सोमवार दुवै दिन खेल्नेछ। पोखरा सँग आइतवारको खेल जितेमा अन्तिम खेल अघि नै सुदूरपश्चिम प्ले अफमा पुग्नेछ।

सुदूरपश्चिम बाँकी रहेका दुवै खेलमा गुमाएको अवस्थामा पनि अघि बढ्ने सम्भावना रहन्छ। यद्यपि त्यसको लागि अर्को खेलको नतिजाले प्रभाव पार्न सक्छ।

काठमाडौं गुर्खाज

काठमाडौंको लिग चरण अब १ खेल बाँकी छ। काठमाडौंले आइतवार विराटनगरको सामना गर्नेछ । काठमाडौंलाई प्लेअफमा स्थान बनाउँन यो खेलमा जित आवश्यक छ । काठमाडौं पराजित भएको खण्डमा प्लेअफमा पुग्ने टोलीको टुंगो एक दिन अघि नै लाग्नेछ । प्लेअफको सम्भावना कायमै राख्न काठमाडौंलाई फराकिलो जितको आवश्यकता रहन्छ ।

कर्णाली याक्स

६ खेलमा पछिल्ला ४ खेलमा लगातार जितका साथ कर्णाली तालिकाको चौथो स्थानमा छ । कर्णालीको १ खेल बाँकी छ । लिग चरणको अन्तिम खेल सोमवार कर्णाली र सुदूरपश्चिमबीच हुनेछ । सुदूरपश्चिम विरुद्ध जित निकालेमा कर्णाली अघि बढ्नेछ । पराजित भएको खण्डमा अन्य खेलको नतिजामा निर्भर हुनुपर्ने छ।

चितवन राइनोज

प्लेअफ पुग्ने दौडमा रहेको र लिग चरणमा १ खेल पनि बाँकी नरहेको टोली चितवन मात्र हो । चितवन ७ खेलमा ४ जितका साथ अंक तालिकाको तेस्रो स्थानमा छ । यस्तोमा अघिल्लो चरणका लागि ३ खेलको नतिजामा भर पर्नुपर्ने छ।


प्रकाशित मिति : २०८१ मंसिर ३०, आईतवार गते

धेरै पढिएको

ताजा समाचार