लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित


सिद्धार्थ बैंंक नेपाल प्रिमियर लिग(एनपिएल) मा शुक्रवारको पहिलो खेलमा लुम्बिनी लायन्समाथि कर्णाली याक्सले रोमाञ्चक जित हात पारेको छ ।

कर्णालीले ५ रनको रोमाञ्चक जित निकालेको हो। यो जितले कर्णालीले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ ।

१ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन मात्र जोड्यो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए ।

सन्दीप जोरा २१ बलमा २ छक्काको सहयोगमा २४ रन जोडे । सन्दीप विलियम बोसिस्टोको बलमा दीपक डुम्रेबाट समातिए ।

ओपनर आशुतोष घिरैयाले २१ बलमा १६ रन जोडे । आशुतोष जिशान मक्शुदको बलमा बोसिस्टोबाट समातिए । अर्का ओपनर अर्जुन साउद कप्तान सोमपाल कामीको बलमा गुलशन झाबाट समातिए । कप्तान रोहित पौडेल १० रन बनाउँदै जिशान मक्शुदको एलबिडब्लु धरापमा परे ।

अन्तिम ओभरमा जितका लागि ९ रनको आवश्यकता भएकोमा कर्णालीका नन्दन यादवले ३ रन मात्र खर्चिएर टिमलाई प्लेअफ नजिक पुर्याए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको सामान्य योगफल तयार गरेको थियो ।

कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन जोडे । उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरे । अन्तिम ओभरमा बोसिस्टो विकास आग्रीबाट बोल्ड आउट भए । अर्जुन घर्ती २५ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रन बनाउदै रेमन सिमण्ड्सको बलमा आउट भए ।

ओपनर बाबर हायातले २२ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । ओपनर बाबर तिलक राज भन्डारीको बलमा साद विन जाफरबाट समातिए ।

अर्का ओपनर देव खनाल ३ रन जोड्दै साद विन जाफरको बलमा पेभिलियन फर्किए । तेस्रो नम्बरमा ब्याटिङमा आएका चालडिक वाल्टन १३ रन जोड्दै तिलकराज भन्डारीको बलमा नै आउट भए ।

गुलशन ८ रन जोड्दै लुम्बिनीका कप्तान गुलशन झाको बलमा विकेटकिपर अर्जुन साउदबाट क्याच भए । कप्तान सोमपाल कामी २ बलमा ७ रन बनाउँदै विकासबाट आउट भए ।

लुम्बिनीका लागि यो खेलबाट एनपिएल डेब्यु गरेका विकासले अन्तिम ओभरमा ३ विकेट लिए । तिलक राज भन्डारीले २ तथा साद विन जाफर र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । कर्णाली ६ खेलमा ८ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ ।

लुम्बिनीले ७ मध्ये १ मात्र खेल जितेर एनपिएलको अन्त्य गरेको छ । आजै विराटनगर किंग्स र चितवन राइनोज खेल्नेछन् ।


प्रकाशित मिति : २०८१ मंसिर २८, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार