काठमाडौ, बुधबार पनि देशका धेरै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज बिहान कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले आज पनि भारी वर्षा हुने भएकोले बाढीपहिरोको जोखिमबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ ।
भारी वर्षाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्र र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने देखिएकोले जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
‘देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ, ‘सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्र प्रभावित हुनसक्ने देखिन्छ ।
तसर्थ भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’