नारायणघाट, सुक्खा पहिरोका कारण बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन ।
विहीबार दिउँसो १ बजेदेखि बन्द भएको सडक अहिलेसम्म पनि नखुल्दा हजारौँ यात्रु विचल्लीमा परेका छन् ।
यात्रुहरु भोक प्यासमा बसिरहेको ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक कामले हिँडेकाहरु झन धेरै समस्यामा परेका छन् ।
इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउँसैदेखि सडक बन्द भएको हो । दिउँसो केहीबेर पहिरो पञ्छाउने काम भएपनि पहिरो खस्ने क्रम नरोकिएपछि अहिलेसम्म सडक बन्द नै रहेको छ ।
अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । अहिले काठमाण्डौबाट छुट्ने गाडी काठमाण्डौमै रोकिएका छन् भने पूर्व र पश्चिमबाट काठमाण्डौतर्फ आउने गाडी नारायणगढ आसपासमै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले पनि पहिरो खसेको खस्यै गर्दा पञ्छाउन समस्या परेको छ । पहिरो रोकिएपछि पनि पञ्छाउन लामो समय लाग्ने भएकाले सकभर मुग्लिन नारायणगढ सडक भएर यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।