काठमाडौँ, सरकारले कृषि बीमाका लागि ८० प्रतिशत अनुदान दिए पनि किसानको आकर्षण त्यसप्रति बढेको देखिएको छैन ।
२०७१ देखि सुरु भएको कृषि बीमामा हालसम्म दुई लाख किसान मात्र सहभागी भएका छन् ।
दुई लाखमध्ये पाँच हजार किसानले मात्र बाली बीमा गराएका छन् । त्यसबाहेक अरू सबै पशुपन्छीतर्फ गराएका छन् ।
बालीतर्फ किसानको त्यति आकर्षण छैन, कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसीले भने, “कृषि बालीमा त्यति जोखिम पनि छैन, लगानीको हिसाबले पनि त्यति ठूलो ‘स्केल’ मा हुँदैन, त्यही भएर किसान बाली बिमातिर त्यति आकर्षित भएको पाइँदैन ।”
पशुपन्छीमा लगानी पनि धेरै हुन्छ र त्यहाँ जोखिम पनि धेरै भएका हुनाले त्यतातिरको किसान बीमाप्रति आकर्षित भएको बताइएको छ ।
तर, यसबाट किसानले कति फाइदा लिए, त्यसमा पनि प्रश्न उठेको छ । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि २०७७/७८ सम्म बीमा कम्पनीहरूले कृषि तथा पशुपन्छी बीमाबाट पाँच अर्ब ६० करोड चार लाख २७ हजार रुपियाँ उठाएका छन् ।
यसका लागि सरकारले अनुदानमा चार अर्ब १९ करोड १६ लाख १९ हजार ९० रुपियाँ दिएको छ ।
तर, किसानले त्यसबाट १० करोड ४० लाख ४७ हजार १७४ रुपियाँ मात्र पाएका छन् ।
अर्थात् सरकारले दिएको अनुदानबाट किसान लाभान्वित हुनुभन्दा बीमा कम्पनी बढी लाभान्वित भएको गुनासो किसानसँग सम्बन्धित सङ्घ संस्थाले गुनासो गरेका छन् ।
सरकारले कृषि बीमा सञ्चालन गरे पनि त्यसप्रति आकर्षण बढाउने काम नगरेको गुनासो खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले गरे ।
सरकारले कृषि बीमा सुरु ग¥यो, त्यसमा ८० प्रतिशत अनुदान पनि दियो । तर, किसानले त्यसबाट फाइदा लिएको नदेखिएको उनले दाबी गरे ।
बीमाका बारेमा धेरै किसानलाई जानकारी पनि छैन । साना किसानसमक्ष यो कार्यक्रम पुगेकै छैन ।
अर्थात् जहाँ जोखिम छ, त्यहाँ कृषि बीमाको पहुँच नपुगेको उनले दाबी गरे । तर, कृषि विभागका महानिर्देशक केसीले आफूहरूले कृषि बिमाको प्रचारप्रसार तथा तालिममा विशेष जोड दिएको बताउँछन् ।
विभिन्न कारणले सबै किसानसमक्ष बीमा नपुगेको होला, त्यो हुन सक्छ । तर, आफूहरूसँग भएको साधनस्रोतका आधारमा किसानसम्म पुग्ने प्रयासमा लागेको उनले बताए ।
कृषि बीमाले किसानको क्षतिको रक्षावरणमा उल्लेख्य सहयोग पुर्याएको दाबी गर्दै उनले किसानले सुरक्षाको महसुस गरेको र कृषिको व्यवसायीकरणमा टेवा पुगेको दाबी गरे ।
कृषि विभागले बीमा कम्पनीहरूसँग छलफल सम्पन्न गरेको छ । कृषि बीमामा १६ वटा बिमा कम्पनी संलग्न छन् ।
कृषि विभागका महानिर्देशकका केसीको अध्यक्षता भएको सो छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सवनम सिवाकोटीले बीमा कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
कृषि बीमालाई समय अनुकूल परिमार्जन कृषकमैत्री तुल्याउन सबै सरोकारवालाको सक्रिय सहकार्यको अपेक्षा रहेको उनले बताए ।
कृषि विभागका उपमहानिर्देशक डा. शान्ता कार्कीले कृषि, पशुपन्छी तथा जडीबुटी बिमाको परिचय, बीमालेखका किसिम, उद्देश्य र बीमा अनुदान व्यवस्थापन गर्न प्रचलनमा ल्याइएका ऐन नियमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यव्रममा नेपाल बीमा प्राधिकरणका तर्फबाट पुनम ज्ञवाली श्रेष्ठले बीमा कार्यान्वयनको संस्थागत व्यवस्था, बीमासम्बन्धी विविध तथ्याङ्क, कृषि बीमाका अवसर तथा चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।