Anoj Rimal
Chief Executive Officer
Yeti Airlines P. Ltd. | Tara Air P. Ltd.
दशकौंको पर्खाइपश्चात् पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदैछ, यहाँलाई कस्तो महसुस भइरहेको छ ?
नेपालमा यस्ता धेरै विमानस्थल आवश्यक छ, जसमध्ये एक पोखरा पनि थियो । नेपालको पर्यटनको केन्द्र मानिँदै आएको पुरानो पोखरा विमानस्थल सानो, प्राविधिक रुपमा कम उन्नत र उडान क्षमताका हिसाबले पनि अपर्याप्त जस्तै थियो । पोखराजस्तो विश्वभरका पर्यटकमाझ लोकप्रिय रहेको अनि देशकै दोस्रो ठूलो सहरमा पर्ने पोखरामा एउटा अन्तर्राष्ट्रिय विमानस्थल पनि नहुनु दुःखलाग्दो कुरा थियो । अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै अन्तर्राष्ट्रिय पर्यटकको नजरमा पनि देशको छवि सुधार्नमा ठूलो योगदान गर्नेछ ।
अर्कातर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै काठमाडौंमा हामीले भोगिरहेको हवाई चापमा व्यापक सुधार हुने मैले अपेक्षा लिएको छु । पर्यटक लक्षित
अन्तर्राष्ट्रिय उडानहरु पोखरातर्फ लाग्नेछन् भने धेरै आन्तरिक वायुसेवाले पोखरालाई दोस्रो आधार बनाएर आनो उडान सञ्जाल बनाउनेछन् जसले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक वायुसेवाको थप चाप झेल्नुपर्ने छैन ।
देशको हवाई उड्डयनको क्षेत्रमा पहिला गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ आयाम थपेको छ । राज्यको अबको ध्यान निजगढ अन्तर्राष्ट्रिय विमानस्थलतर्फ केन्द्रित हुनुपर्छ । देशको विकासका लागि यी महत्वपूर्ण आधारशिला हुन् ।
स्टल र अन्य उडानका लागि पोखरामा दुई अलग विमानस्थल हुनु कति व्यावहारिक होला ?
मलाई लाग्छ यो प्रारम्भिक व्यवस्थापन हो । पोखरामा दुईवटा विमानस्थल भएपछि दुवैको सञ्चालनार्थ यस्तो व्यवस्था मिलाइएको हुनुपर्छ । यसबाट काठमाडौंबाट जोमसोम जाने यात्रुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर पुनः पुरानो विमानस्थलमा जानुपर्छ तर त्यो दुरीका हिसाबले जानै नसकिने र टाढा पनि छैन । यद्धपि मलाई लाग्छ कालान्तरमा सबैखाले व्यावसायिक उडानहरु पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनेछन् र यसले धान्न गाह्रो पनि पर्नेछैन ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै नेपाली वायुसेवालाई कस्तो फरक पर्ला ?
यसले सकारात्मक प्रभाव नै पार्नेछ । अत्याधुनिक विमानस्थलबाट उडान गर्नु सुरक्षाका दृष्टिकोणले पनि ज्यादै सकारात्मक कुरा हो । प्राविधिक दृष्टिकोणले यो विमानस्थल चौबीसै घण्टा सञ्चालन गर्न सकिने गरी बनेको छ, आगामी फेब्रुअरीबाट १८ घण्टा विमानस्थल सञ्चालन हुने प्राधिकरणले बताउँदै आएको छ, यस परिप्रेक्ष्यमा मैले अपरेटरको हैसियतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै अपेक्षा राखेको छु । अपरेटरका रुपमा हामीलाई यस विमानस्थलबाट अलिकता सञ्चालन लागत बढ्छ, तर यस विमानस्थल सञ्चालनसँगै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने चापबाट राहत दिँदै एअरहोल्ड केही मिनेट मात्र घटाईदिंँदा पनि वायुसेवा सञ्चालकलाई आर्थिक रुपमा ठूलो प्रतिफल रहने विश्वास गर्न सकिन्छ । हामीले केही वर्ष पहिले भएको टर्किस एअरलाइन्सको दुर्घटनाको समय भुलेका छैनौं, यो नयाँ विमानस्थल सञ्चालनमा आएसँगै हामीले त्यो स्तरको समस्या अब कहिल्यै भोग्नुपर्ने छैन । व्यवसायको हिसाबले हेर्ने हो भने पोखरामा हाल करिब ३५ वटा उडान भइरहेकोमा अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनसँगै यो उडान संख्या दोब्बर हुने देखिन्छ र यसका लागि यात्रु भएको पनि हाम्रो बुझाइ छ ।
यसरी उडान संख्या र प्रतिस्पर्धा बढेपछि भाडा दर पनि घट्ला कि ?
हामीले प्रतिस्पर्धाका आधारमा डाइनामिक भाडादर कायम गरेका छौं । हाम्रो त सिस्टमले नै भाडादर नियन्त्रण गर्छ त्यसैले प्रतिस्पर्धा बढेपछि सस्तो मूल्यका सिटहरु बढ्ने अपेक्षा गर्न सकिन्छ, तर न्यूनतम भाडा घट्न चाहिँ इन्धन मूल्य नै घट्नुपर्छ । हामी अहिले रेकर्ड हाई मूल्यको इन्धनमा निर्भर रहेका छौं, जसको सरचार्ज यात्रुलाई नै व्ययभार परेको छ, जुन घट्यो भने पोखराको मात्र होइन समग्र हवाईभाडा घट्नेछ ।
धमाधम थपिएका विमानस्थलले देशको व्ययभार धान्नै नसक्ने गरी बढायो भन्ने भनाइप्रति यहाँको धारणा के छ ?
यो भनाइ बहसका लागि मात्र हो । न त हालसम्म देशको लागि यति नै विमानस्थल आवश्यक छ भन्ने अध्ययन भएको छ न त त्यसको आर्थिक प्रभाव के भन्ने अध्ययन नै गरिएको छ । चाहिन्छ भन्नेसँग पनि ठोस आधार छैन र चाहिन्न भन्नेसँग पनि छैन, यी सबै अनुमानका भरमा आएका कुरा हुन् । भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाले अपेक्षाकृत चासो नदेखाइदिँदा यी बहसमा मलजल भएको हुनुपर्छ । तर, पूर्वाधारको निर्माणबिना देश विकास सम्भव छैन र कुनै पनि पूर्वाधारको निर्माण आजको आवश्यकता हेरेर गरिँदैन । त्यसको उपादेयता कालान्तरसम्म रहन्छ । हाम्रो जस्तो विकाससील देशमा निर्माण हुने हरेक पूर्वाधार अपरिहार्य छन् जस्तो मलाई लाग्छ । अहिलेसम्म यो पूर्वाधार काम नलाग्ने बनाइयो भन्ने अवस्था आइसकेको छैन । तर त्यो अवस्था नआओस् भन्नेमा भने हामी सचेत हुनैपर्छ । यद्धपि, यो बहसले देश विकासको मूल खाका बनाउन आवश्यक भएतर्फ भने पक्कै पनि संकेत गरेको छ ।