वसन्त ऋतुमा हिमाल आरोहण गर्न अहिलेसम्म ६ सय १२ जनाले अनुमति लिएका छन्।
विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहण गर्न ४६ देशका २७४ आरोहीले अनुमति लिएका छन्। जसमा २२१ पुरुष र ५३ जना महिला छन्।
सगरमाथा आरोहणका लागि यस पटक सबैभन्दा बढी अमेरिकाबाट ५९, चीनबाट ३८, जापानबाट १९, भारतबाट १७, रसियाबाट १६ र बेलायतबाट १५ जनाले अनुमति लिएका विभागले जनाएको छ।
सगरमाथापछि सबैभन्दा बढी अमादब्लम आरोहणका लागि सात समूहका ६३ पुरुष र १७ महिला गरी ८० जनाले अनुमति लिएका छन् भने मकालु पहिलोका लागि ४५, लोत्सेका लागि ४०, अन्नपूर्ण पहिलोका लागि २५ जनाले आरोहण अनुमति लिएका छन्।
सरकारले सगरमाथा आरोहण शुल्कबापत मात्रै ३९ करोड १२ लाख ८५ हजार ८८७ रुपैयाँ राजस्व संकलन गरेको छ। यो सिजनको लागि अहिलेसम्म दिइएको हिमाल आरोहण अनुमतिबापत ४३ करोड ७८ लाख ७५ हजार ५९ रुपैयाँ राजस्व संकलन भएको छ।

