काठमाडौँ । आज शुक्रबारबाट देशभर दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । फिल्म हुन् ‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ । फ्राइडे रिलिज अन्तर्गत यी दुवै फिल्म एकसाथ देशभर प्रदर्शनमा आएको हो । फरक कथा र कलाकारको अभिनय रहेका यी दुवै फिल्म पारिवारिक भएको बताइन्छ ।
दुई फिल्ममध्ये एक ‘एक मुठ्ठी बादल’ ले नेपाली समाजमा गहिरो गरी जकडिएको दाइजो प्रथा र पारिवारिक जटिलतालाई उठान गरेको छ । फिल्मको पृष्ठभूमि एउटा विवाहको उत्सवमय वातावरण हो, तर त्यसभित्र लुकेका सम्पत्तिको लोभ, घरभित्रको राजनीति र महिलाको सामाजिक स्थानका बारेमा फिल्मले गहिरिएर केलाएको छ ।
फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक र भीमा मैनालीको मुख्य अभिनय रहेको फिल्म अभिमन्यु दीक्षित र निकुन श्रेष्ठले निर्माण गरेका हुन् । गौँथली इन्टरटेनमेन्ट र मन प्रडक्सनको सहकार्य रहेको फिल्म कलात्मक र व्यावसायिक दुवै दृष्टिकोणले सशक्त रहेको दाबी गरिएको छ । फिल्म साहारा शर्माले निर्देशन गरेकी हुन् ।
त्यस्तै, ‘लाइफ ड्यामेज’ पनि पारिवारिक कथा फरक तवरबाट पस्किएको बताइन्छ । ‘फेन्टासी कमेडी ड्रामा’ जनरामा बनेको फिल्ममा सुरक्षा पन्त निमेष श्रेष्ठ, ईशा थापा र सञ्जना महर्जनको अभिनय छ । फिल्मको निर्देशन निमेष श्रेष्ठले गरेका हुन् । नेपाली फिल्ममा फेन्टासी जनरामा कमै फिल्म बन्ने गरेकाले यो फिल्मले दर्शकका लागि नयाँ स्वाद दिने निर्देशक श्रेष्ठले बताए ।

