इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेञ्जर्स बैंगलुरूमाथि मुम्बई इन्डियन्सले सानदार जित निकालेको छ। गएरति वाङ्खेडे स्टेडियममा भएको खेलमा मुम्बईले बैंगलुरूविरूद्ध सात विकेटको सानदार जित निकालेको हो।
जितका लागि १९७ रनको लक्ष्य पछ्याएको मुम्बईले तीन विकेटमात्रै गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो। मुम्बईका लागि ओपनर इशान किशन र सूर्यकुमार यादवले अर्धशतक हाने।

इशानले ३४ बलमा ७ चौका र ५ छक्का प्रहार गरी ६९ रन बनाउँदा सूर्यकुमारले मात्र १९ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५२ रनको योगदान गरे। त्यस्तै रोहित शर्माले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ३८ रन जोडे।
बलिङतर्फ बैंगलुरूका आकाश दिप, विजयकुमार विशक र विल ज्याक्सले एक/एक विकेट लिए। घरेलु मैदानमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। ओपनर विराट कोहली ३ रन बनाएर आउट हुँदा अर्का ओपनर फाफ डु प्लेसिसले ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन बनाए।

त्यस्तै विल ज्याक्स ८ रनमा आउट हुँदा रजत पाटिदारले २६ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५० रन बनाए। दिनेश कार्थिकले २३ बलमा ५ चौका र ४ छक्का प्रहार गरी ५३ रन जोडे। ग्लेन म्याक्सवेल र महिपाल लोम्रोर शून्य रनमा आउट हुन पुगे।
यसरी तीन ब्याटरले अर्धशतक बनाए पनि बैंगलुरूले हार टार्न सकेन। बलिङतर्फ मुम्बईका जसप्रित बुमराहले पाँच विकेट लिए। जेराल्ड कोत्जी, आकाश माधवल र श्रीयश गोपालले एक/एक विकेट लिए। यो सँगै बैंगलुरू लगातार तीन खेलमा पराजित भएको छ।
६ खेल खेलिसकेको आरसिबीले एक खेलमा मात्र विजयी भएको छ। बैंगलुरू पहिलो खेलमा चेन्नईसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको थियो।
त्यसपछि चार खेल खेलिसकेको बैंगलुरू लगातार पराजित छ। तेस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग ७ विकेटले, चौथो खेलमा लखनउ सुपर जायन्ट्ससँग २८ रनले, पाँचौं खेलमा राजस्थान रोयल्ससँग ६ विकेटले र गएराति मुम्बई इन्डियन्ससँग ७ विकेटले पराजित भएको हो।
आरसिबीले ६ खेलबाट २ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा छ।

