कोलीको शतकले आरसिबिलाइ जिताउन सकेन तर बटलरको शतकले भने राजस्थानलाइ जितायो


जोस बटलरको शतकको मद्दतमा राजस्थान रोयल्सले इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शनिबार सम्पन्न खेलको रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) विरुद्ध जित हात पारेको छ । राजस्थानले ६ विकेटको जित हात पारेको हो ।

आरसिबिले दिएको १८४ रनको लक्ष्य राजस्थानले ४ विकेट गुमाएर ५ बल बाँकी छँदै भेट्टायो । राजस्थानका लागि बटलरले अन्तिम बलमा शतक पुर्याए । ६ बलमा १ रन चाहिएको अवस्थामा बटलर ९४ रनमा रहेका थिए । अन्तिम ओभरको पहिलो बलमा नै छक्का प्रहार गर्दै उनले ५८ बलमा शतक पुरा गरे । उनको इनिङमा ९ चौका र ४ छक्का सम्मिलित थियो ।

यस्तै राजस्थानका लागि कप्तान सञ्जु स्यामसनले ४२ बलमा ८ चौका र २ छक्का सहित ६९ रन जोडे । शिमरन हेटमायरले ११ रन बनाए ।

आरसिबिका लागि रिस टोप्लीले २ तथा यश दयाल र मोहम्मद सिरजले १-१ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले २० ओभरमा ३ विकेट गुमाउँदै १८३ रन जोड्यो । आरसिबिका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र ४ छक्का सहित ११३ रनको शतकीय इनिङ खेले । यस्तै कप्तान फ्याफ डु प्लेसिसले ३३ बलमा ४४ रन बनाए । तर अन्य ब्याटर चल्न नसक्दा आरसिबिले अझ ठूलो योगफल खडा गर्न सकेन ।

राजस्थानका लागि युजभेन्द्र चहलले २ तथा नन्द्रे बर्गरले १ विकेट लिएका थिए ।

जित पछि राजस्थान ४ खेलमा ४ जित सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा १ मात्र जित हात पारेको आरसिबि आठौ स्थानमा छ ।

आईपिएलमा आईतबार दुई खेल हुँदै छन् । दिनको ३:४५ बजे हुने खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् भने बेलुका ७:४५ बजे लखनऊ सुपर जाएन्ट्स र गुजरात टाईटन्स आमने-सामने हुने छन् ।


प्रकाशित मिति : २०८० चैत्र २५, आईतवार गते

धेरै पढिएको

ताजा समाचार