प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणबारे संसदीय छानबिन समिति गठन गरिनुपर्ने अडान कायमै रहेको बताएको छ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणको संसदीय छानबिन समिति बनाएर छानबिन गरिनुपर्ने अडान राखेका हुन्।
‘आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्,’ उनले भने, ‘हामी त्यो कुराभन्दा दायाँबायाँ उभिनेवाला छैनौं। कसैलाई भ्रम नहोस्। कतिपयलाई भ्रम परेको छ- कांग्रेसले उठाएको यो मुद्दा टुंगिँदैछ। सत्ताको समीकरण खेलमा कांग्रेसले नयाँ चाल गर्दैछ। कुनै चाल छैन।’
उनले रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री पद प्रस्ताव गरेको भए प्रमाण ल्याउन पनि आग्रह गरेका छन्।

