हिले, चैत्र १२ गते । धनकुटाको छथर जोरपाटी गाउँपालिका दुई ध्वजे डाँडालाई पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणको काम तीव्र पारिएको छ । तिन वर्ष अघिबाट सुरु गरेको कार्यमा अहिले एक करोड भन्दा बढी खर्च भइसकेको छ ।
हाल सम्म सो स्थानमा कोशी राजमार्ग वाट डाँडा सम्म पुग्न करिब डेढ किलोमिटर लामो छथर ग्रेटवाल निर्माण गरिएको छ । त्यस्तै ध्वजे डाँडामा लिम्बु जातिको सिलाम साक्मा, मगर जातिको खुर्पेटोको प्रतिमा निर्माण गरिएको छ । त्यस्तै डाँडामा नेपालको राष्ट्रिय झन्डा, लभ स्टेसन निर्माण गरिएको छ । सोही स्थानमा पानी संरक्षण अभियान अन्तरगत इसिमोडले एक डाले पोखरी निर्माण गरिदिएको छ ।
त्यस्तै वन कार्यालयले समेत सो स्थानमा रिचार्ज पोखरी निर्माणको तयारी गरेको छ । ध्वजे डाँडालाई छथर जोरपाटी गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य बनाउन आफूहरू नयाँ सोचका साथ लागि परेको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनु भयो । सङ्घ र प्रदेश सहित दाताहरूको सहयोगमा पालिका भित्रका सबै जातजातिको पहिचान झल्कने गरि थप स्तम्भ निर्माण गरिने उहाँको भनाई छ ।
यो डाँडा करिब २३०० मिटरको उचाइमा रहेको छ । डाँडाबाट सूर्योदय र सुर्यस्तको सहित विभिन्न मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।

