आजबाट बागमती प्रदेशमा भेँडा बाख्रामा लाग्ने पिपीआर रोग विरुद्धको खोप लगाइँदै


आजबाट बागमती प्रदेशमा भेँडा बाख्रामा लाग्ने पिपीआर रोग विरुद्धको खोप अभियान सञ्चाल हुँदैछ । प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहत सञ्चालन हुने खोप अभियानमा प्रदेशका १३ जिल्लाका करिब साढे १३ लाख भेँडाबाख्रामा खोप लगाइने भएको छ।

एक हप्तासम्म चल्ने खोप अभियानमा जिल्ला पशु सेवा कार्यालय मार्फत २० वटा भन्दा बढी भेँडाबाख्रा पाल्ने कृषकको पहिचान गरी सोही स्थानमा पुगी खोप सञ्चालन गरिने योजना रहेको मन्त्रालयका प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।

२२ फागुनसम्म चल्ने खोप अभियानका लागी १५ लाख ९४ हजार डोज खोप प्राप्त भएकोमा १३ लाख ५० हजार डोज खोप खपत गर्ने लक्ष्य रहेको प्रवक्ता कँडेलको भनाई छ । उनले मन्त्रालयको तथ्यांक अनुसार प्रदेशभर करिब २८ लाख  भेँडाबाख्रा रहेकोमा अहिले सञ्चालन गर्ने खोपको कभरेज करिब ५८ प्रतिशत रहेको बताए । प्रवक्ता कँडेलले पिपीआर विरुद्धको खोप भेँडाबाख्रामा पहिलो पटक ३ महिनाको उमेर पूरा भएपछि लगाउने र खोप लगाउँदा हरेक ३÷३ वर्षको फरकमा लगाउनुपर्ने जानकारी दिए ।

प्रदेश सरकारले गत २ वर्षदेखि बर्षेनी खोप अभियान चलाइरहेकाले गत वर्ष खोप लगाएका भेँडा बाख्रालाई यसपटक लगाउनु नपर्ने भएकाले बागमती प्रदेशका लागी छुट्याइएको १५ लाख खोप पर्याप्त हुने बताए । पिपीआर रोगको संक्रमण दर शत प्रतिशत र मृत्यु दर ९० प्रतिशतसम्म पुग्ने भएकाले यसलाई पशुहरुमा लाग्ने सबैभन्दा खतरनाक रोग मानिने गरेको प्रवक्ता कँडेलले जानकारी दिए ।

नेपालमा पहिलोपटक सन् १९९४ मा देखिएको यो रोग हाल ७७ वटै जिल्लामा पुष्टी भएको छ । यो रोग लागेका भेँडाबाख्रामा ज्वरो आउने, झोक्राउने, घाँस, दानापानी नखाने, नाकबाट पानी बग्ने, नाकको प्वाल बन्द हुने, आँखा रातो, कचेरा निस्कने, निरन्तर आँशु बग्ने लगायतका लक्षण देखिने र रोग लागेको ५ देखि १० दिनमा भेँडाबाख्राको मृत्यु हुने गर्छ ।


प्रकाशित मिति : २०८० फाल्गुन १६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार