काठमाडौँ । साँखुको शालीनदीमा गत माघ ११ गतेबाट सुरु भएको स्वस्थानी मेलामा करिब एक करोड बढीको सहयोग रकम सङ्कलन भएको छ । स्वस्थानी मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख एलबी श्रेष्ठले दिएको जानकारी अनुसार पसलहरू र अन्य भक्तजनहरूबाट भएको सहयोगबाट करिब एक करोड सहयोग सङ्कलन भएको हो ।
शालीनदीमा परापूर्वकालदेखि एक महिनासम्म चल्दै आइरहेको कठिन व्रत र धार्मिक मेला यसवर्ष गत माघ ११ गतेबाट सुरु भएको थियो । मेला शनिबार(आज)साँझ विशेष समारोहबिच समापन तयारी रहेको मेला व्यवस्थापन समितिका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो वर्ष महिला, पुरुष र अन्य गरेर २०९ जना व्रत बसेका थिए ।
एक महिनाको अवधिभर नुन समेत नखाएर व्रत बस्ने प्रचलन रहेको पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताए । अघिल्लो वर्षहरूको तुलनामा यो वर्ष मेला थप व्यवस्थित ढङ्गले सम्पन्न गर्न सफल भएको पनि उनको भनाइ छ ।
मेलामा आउने दर्शनार्थीहरू पनि नियमित रूपमा आएकाले एक महिनाको अवधिभर कुनै भीडभाड र असहज परिस्थिति सिर्जना नभएको उनले बताए । माधवनारायण र स्वस्थानीको पूजास्थल शालीनदी क्षेत्रमा एक महिना मेला लाग्ने गर्छ । मेला अवधिभर सभ्य, भव्य तथा शान्तिपूर्ण ढङ्गले मेला समापन गर्ने तयारी रहेको पनि उनको भनाई छ ।
माधवनारायण व्रत र शालीनदी मेला नेपालको राष्ट्रिय महत्त्व र गौरवको विषय भइसकेको हुँदा वर्षेनी दर्शनार्थीहरूको घुइँचो लाग्नेगर्छ । भक्तजनहरूको आस्था, विश्वासका कारण वर्षेनी आगमन बढ्दो क्रममा रहेको पनि श्रेष्ठले बताए ।
उनका अनुसार यो वर्षको मेलामा २२ लाख धार्मिक पर्यटकहरूले मेलाको अवलोकन गरेको पनि उनले जानकारी दिए । यद्यपि, अघिल्ला वर्षहरूको तुलनामा आर्थिक सहयोग सङ्कलन र मेला अवलोकन गर्न आउने दर्शनार्थीहरूको सङख्यामा त्यति धेरै फरक भने नरहेको उनको भनाई छ । शालीनदी काठमाडौँको उत्तरपूर्वी क्षेत्रमा पर्छ ।

