पोखरा । अफ्रिकन स्वाइन फिभरका कारण डेढ वर्षमा गण्डकी प्रदेशमा झन्डै १७ हजार बङ्गुर मरेका छन् । २०७९ साउन अन्तिम देखि हालसम्म १६ हजार ५ सय ४५ बङ्गुर मरेका तथ्यांक पशु सेवा निर्देशनालय गण्डकीले जनाएको छ । त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका हुन् ।
यो अवधिमा २ पटकसम्म रोग देखिएको निर्देशक प्रेरणा सेढाईंले जानकारी दिइन् । उनका अनुसार केही फार्म बाहेक सबैतिर रोग फैलिएको छ । शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता समस्या देखिएका उनले बताइन् ।
`रोगी सुँगुर, बङ्गुर, जङ्गली बँदेलसँग सम्पर्कबाट सरेका छन् । होटल र भोजभतेरबाट ल्याइएका जुठो खानाले पनि यो समस्या बढेको छ,´ उनले भनिन्, `गण्डकीमा निकै ठुलो क्षति भएको छ ।´

