पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
जर्मन क्लब बायर्न म्युनिखसँग दोस्रो लेगमा १-१ को बराबरी खेलेपछि पिएसजी समग्रमा ६-५ को नतिजासहित उपाधि रक्षाको नजिक पुगेको हो। अब पिएसजीले उपाधिका लागि आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो लेगमा ५-४ को जित निकालेको पिएसजीले दोस्रो लेगमा सुरुदेखि नै सावधानीपूर्वक खेल्यो। खेलको तेस्रो मिनेटमै उस्मान डेम्बेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाए। ख्भिचा क्वारात्स्खेलियाको पासमा डेम्बेलेले उत्कृष्ट फिनिस गरे।
सुरुआती गोलले पछि परेको बायर्नले बराबरीका लागि दबाब बढायो। लुइस डियाज, माइकल ओलिसे र जमाल मुसियालाले अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। पहिलो हाफको इन्जुरी समयमा जोनाथन टाहले पाएको हेडिङ अवसर पनि बाहिरियो।

दोस्रो हाफमा पिएसजीले बलियो रक्षात्मक खेल प्रदर्शन गर्यो। गोलरक्षक मानुएल नोयरले केही उत्कृष्ट बचाउ गर्दै पिएसजीको अग्रता बढ्न दिएनन्।
इन्जुरी समयको चौथो मिनेटमा ह्यारी केनले अल्फोन्सो डेभिसको पासमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए। तर त्यसपछि बायर्नले अर्को गोल गर्न नसक्दा पिएसजी फाइनल पुग्यो।
डेम्बेलेको गोल च्याम्पियन्स लिग सेमिफाइनल इतिहासकै तेस्रो सबैभन्दा छिटो गोल बनेको छ। यस्तै, क्वारात्स्खेलिया लगातार ७ नकआउट खेलमा गोल वा असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन्।
खेलमा बायर्नले धेरै आक्रमण गरे पनि पिएसजीले अग्रता जोगाउँदै सफलता प्राप्त गर्यो ।

