नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नि आरजु राणाविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा इन्टरपोलले थप विवरण मागेको छ।
नेपाल प्रहरीको इन्टरपोल शाखा (एनसिबी)ले देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न पठाएको पत्रमा लियनस्थित इन्टरपोल हेडक्वार्टरले थप विवरण मागेको उच्च स्रोतले जानकारी दिएको छ।
‘यताबाट पत्राचार भएको छ। उताबाट जबाफ आइसकेको छैन,’ उच्च स्रोतले भन्यो, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान भएकाले थप विवरणबारे पनि सोधिएको छ। त्यसमा लेखापढी भएर प्रक्रियामै छ।’
एनसिबीले विवरण पठाएपछि मात्रै इन्टरपोल हेडक्वार्टरले देउवा दम्पतीविरूद्ध रेड कर्नर नोटिस जारी गर्ने कि नगर्ने निर्णय लिनेछ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पत्तिविरूद्ध अनुसन्धान गर्न पक्राउ अनुमति लिएको थियो। गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो।
सोही विषयमा अनुसन्धानका लागि विभागले पक्राउ अनुमति लिएको थियो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि विभागले रेड कर्नर नोटिस जारी गर्न एनसिबीलाई पत्राचार गरेको थियो।
देउवा दम्पती स्वास्थ्य उपचारको सिलसिलामा हङकङमा पुगेका थिए। तर उनीहरू फर्किएका छैनन्। नफर्किएपछि इन्टरपोलमार्फत प्रक्रिया अघि बढाएको हो।

