तमिल फिल्मका सुपरस्टार थालापती विजय हालै सम्पन्न विधानसभा निर्वाचनपछि तलिमनाडूका मुख्यमन्त्री बन्न गइरहेका छन्।
कुल २३४ सिटको विधानसभामा विजयको पार्टी तमिलगा वेट्री कजगम (टिभिके) ले १०८ सिट जितेको छ। यहाँ सरकार बनाउन ११८ सांसदको समर्थन चाहिन्छ। विजयलाई कंग्रेस र अन्य केही दलले समर्थन दिन लागेकाले उनी मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ।
सिनेमाबाट राजनीतिमा लागेका थालापती विजयको यो सत्ता यात्रा क्रममा उनको स्वामित्वमा रहेको अथाह सम्पत्ति पनि अहिले चर्चाको विषय बनेको छ।
विजयले निर्वाचनअघि बुझाएको सम्पत्ति विवरण अनुसार उनको कुल सम्पत्ति करिब ६२४ करोड भारतीय रूपैयाँ रहेको छ। यसमध्ये ४०४ करोडको चल सम्पत्ति र २२० करोड भारूको अचल सम्पत्ति रहेको भारतीय अखबार ‘द इकोनोमिक टाइम्स’ ले जनाएको छ।
तीन दशक लामो तमिल फिल्म करिअर, विभिन्न ब्रान्डको विज्ञापन र रियल स्टेट लगानीबाट विजयले आफ्नो आर्थिक हैसियत मजबुत बनाएका हुन्।
चल सम्पत्तिअन्तर्गत विजयसँग विभिन्न बैंक खातामा ठूलो निक्षेप छ। सम्पत्ति विवरण अनुसार इन्डियन ओभरसिस बैंकमा मात्र २१३ करोड रूपैयाँभन्दा बढी निक्षेप रहेको इकोनोमिक टाइम्सले जनाएको छ।
त्यस्तै, एक्सिस बैंक, एचडिएफसी बैंक र स्टेट बैंक अफ इन्डियामा करोडौं रूपैयाँ मुद्दती खातामा जम्मा छ। यसबाहेक उनको परिवारका सदस्यहरूले विभिन्न कम्पनीमा लगानी पनि गरेका छन्। इकोनोमिक टाइम्सका अनुसार विजयसँग उच्चस्तरीय मोडलका सवारी साधनहरूको ठूलो संग्रह पनि छ। तीमध्ये बिएमडब्लू ५३०, टोयोटा लेक्सस ३५०, टोयोटा वेलफायर, बिएमडब्लू आई७, रेन्ज रोभर इभोक, अडी ए८ एल र फोर्ड मस्टाङजस्ता महँगा गाडीहरू छन्।
अचल सम्पत्तितर्फ विजयसँग करिब २२० करोड भारतीय रूपैयाँ बराबरका जग्गा र घरहरू छन्। यसमा कोडाइकनालमा कृषि जमिन तथा चेन्नईका केही प्रमुख स्थानमा रहेका आवासीय र व्यावसायिक सम्पत्तिहरू समावेश छन्। चेन्नईको नीलंकरैस्थित समुद्री किनारमा रहेको उनको भव्य बंगला मात्रै ७०–८० करोड रूपैयाँ मूल्यको रहेको इकोनोमिक टाइम्सले लेखेको छ। यसका साथै विजयसँग ८८३ ग्राम सुन तथा चाँदीका गरगहना छन्, जसको मूल्य १ करोड २० लाख रूपैयाँभन्दा बढी छ।
उनले आफ्नो सम्पत्ति विवरणमा कुनै ऋण तिर्न बाँकी नरहेको उल्लेख गरेका छन्। त्यस्तै, आर्थिक वर्ष २०२४–२५ मा उनले १८४.५३ करोड रूपैयाँ आम्दानी घोषणा गरेका छन्।
विजयको पार्टीले यो चुनावमा कुनै गठबन्धन नगरी एक्लै सबै २३४ सिटमा उम्मेदवारी दिएको थियो। उनले चुनावी प्रचार क्रममा सिट्ठी अभियान सञ्चालन गरेका थिए। उनले आफूलाई हरेक तमिल परिवारको सदस्यका रूपमा प्रस्तुत गर्दै सिट्टीलाई परिवर्तनको प्रतीक बनाएका थिए।
चुनावी प्रचार क्रममा विजयले डिएमकेलाई राजनीतिक र भाजपालाई वैचारिक शत्रु भनेका थिए। त्यस कारण कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका थिए।
सन् १९७४ मा चेन्नईमा जन्मिएका विजय प्रसिद्ध निर्देशक एसए चन्द्रशेखरका छोरा हुन्। बाल कलाकारका रूपमा फिल्म यात्रा सुरू गरेका उनले ‘गिल्ली’, ‘कथी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता हिट फिल्ममार्फत थालापति (कमान्डर) को छवि बनाएका थिए।
सन् २०२४ फेब्रुअरी २ मा उनले औपचारिक रूपमा टिभिके स्थापना गरे। उक्त पार्टी सेप्टेम्बर ८ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।
राजनीतिमा आउनुअघि उनले अभिनय करिअर छोड्ने घोषणा गरेका थिए।

