सीधा हवाई सम्पर्क र प्रतिबन्ध हटाउन नेपालको आग्रह


उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जोले सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरूबीच शुभकामना आदानप्रदानका साथै नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्धका विविध आयाममा विचार–विमर्श भएको थियो ।

सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघबीच सन् १९७४ देखि कायम रहेको सौहार्दपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै नेपालले संघसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताउनुभयो ।

उहाँले स्वास्थ्य, शिक्षा, ऊर्जा तथा ग्रामीण विकासका क्षेत्रमा संघले पुर्‍याएको सहयोग नेपालका लागि अत्यन्तै उपयोगी भएको उल्लेख गर्दै आगामी दिनमा उत्पादनशील क्षेत्रहरूमा सहयोगको दायरा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

विशेषगरी कर्णाली प्रदेशमा सञ्चालित आयोजनाले दुर्गम क्षेत्रका नागरिकलाई लाभान्वित गरेकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपति यादवले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयता जस्ता साझा मूल्यमा दुवै पक्षको अटुट विश्वास रहेकोमा जोड दिनुभयो ।

उहाँले महामारी र जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौती सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको बताउँदै नेपाल थप सहकार्यका लागि तत्पर रहेको उल्लेख गर्नुभयो ।

भेटका क्रममा उपराष्ट्रपति यादवले सरकारले सुशासन, पारदर्शिता र प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै १०० बुँदे कार्ययोजनामार्फत तीव्र आर्थिक वृद्धिमा जोड दिएको जानकारी दिनुभयो ।

रोजगारी सिर्जना, पूर्वाधार सुधार तथा प्रतिव्यक्ति आय वृद्धि गर्ने लक्ष्यसहित पर्यटन, जलविद्युत् र सूचना प्रविधिलाई आर्थिक वृद्धिको सम्भावित क्षेत्रका रूपमा पहिचान गरिएको बताउँदै उहाँले यस यात्रामा युरोपेली संघ भरपर्दो साझेदार बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल र युरोपबीच सीधा हवाई सम्पर्क स्थापना गरी युरोपेली पर्यटकलाई स्वागत गर्ने नेपालको चाहना रहेको उल्लेख गर्दै उहाँले नेपाली वायुसेवामाथि युरोपमा लगाइएको प्रतिबन्ध हटाउन रचनात्मक सहयोगका लागि आग्रह गर्नुभयो ।

उहाँले आगामी ‘युरोप–डे’ को अवसरमा युरोपेली संघका सदस्य राष्ट्रका जनताको सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभयो ।

राजदूत लोरेन्जोले नेपाल–युरोपेली संघ सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भारतको नयाँ दिल्लीस्थित संघअन्तर्गतका २२ मुलुकका राजदूतहरूले आगामी मे २५–२६ सम्म नेपालको भ्रमण गर्ने जानकारी गराउनुभयो ।

साथै, उहाँले निकट भविष्यमै ‘ईयू–नेपाल बिजनेस फोरम’ आयोजना गर्ने तयारी भइरहेको समेत बताउनुभयो ।


प्रकाशित मिति : २०८३ बैशाख २१, सोमबार गते

धेरै पढिएको

ताजा समाचार