लम्कीचुहा नगर युवा परिषद्को कार्यकारी उपाध्यक्षमा हिमाल बिष्ट नियुक्त


युवा नेतृत्व, सशक्तीकरण र नीतिनिर्माणमा लामो समयदेखि सक्रिय युवा अभियन्ता हिमाल बिष्ट लम्कीचुहा नगरपालिका नगर युवा परिषद्को कार्यकारी उपाध्यक्षमा नियुक्त भएका छन्। लम्कीचुहा नगर युवा परिषद् गठन तथा सञ्चालन कार्यविधि, २०८२ को दफा (३) को उपदफा (२) खण्ड (ख) बमोजिम नगर प्रमुख सुशिला शाहीले बिष्टलाई कार्यकारी उपाध्यक्षमा नियुक्त गरेकी छन्। हिमाल बिष्ट Youth For Change का संस्थापक अध्यक्ष हुन्। उनले युवाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई सकारात्मक दिशामा परिचालन गर्ने उद्देश्यले National Youth Festival, Nepal Youth Summit, Karnali Youth Festival, लगायतका राष्ट्रिय तथा प्रदेशस्तरीय कार्यक्रमहरूको सफल नेतृत्व गर्दै आएका छन्।

यी कार्यक्रमहरूले युवामाझ “नेपालमै सम्भावनाहरू छन्, हामी यहीं केही गर्न सक्छौँ” भन्ने विश्वास र प्रेरणा जगाउने अभियानलाई मजबुत बनाएका छन्। त्यसैगरी, बिष्टले National Youth Council Model United Nations 2024 मा समन्वय सह–आयोजकका रूपमा नेतृत्व भूमिका निर्वाह गरेका थिए, जसले युवामा नीति संवाद, कूटनीतिक सीप र अन्तर्राष्ट्रिय विषयप्रति बुझाइ बढाउन महत्वपूर्ण योगदान पुर्यायो। बिष्टले अन्तर्राष्ट्रिय युवा दिवस २०२४ मा आयोजन समिति सदस्य तथा २०२५ मा सचिवालय सदस्यका रूपमा GenZ पुस्ताको प्रतिनिधित्व गर्दै राष्ट्रिय युवा परिषद् र युवा तथा खेलकुद मन्त्रालय मन्त्रालयद्वारा गठन भएका समितिहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। साथै, उनी राष्ट्रिय युवा परिषद्‌का १० भन्दा बढी तालिम, कार्यशाला र नीति संवाद कार्यक्रममा सहभागी भई युवाको क्षमता विकास र नेतृत्व अभिवृद्धिमा निरन्तर सक्रिय रहँदै आएका छन्।

कार्यकारी उपाध्यक्षका रूपमा बिष्टले युवाको सीप विकास, उद्यमशीलता प्रवर्द्धन, अवसर–केन्द्रित कार्यक्रम, र स्थानीय तहको नीतिनिर्माणमा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने प्राथमिकता राखेका छन्। उनले युवालाई नीतिका केन्द्रमा ल्याउँदै, “नेपालमै अवसर छ, हामीले यहीं सम्भावनाको यात्रामा अघि बढ्न सक्छौँ” भन्ने आशा र दृष्टि फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन्। हिमाल बिष्ट लम्कीचुहा–२, भल्का निवासी हुन्।


प्रकाशित मिति : २०८२ कार्तिक ३०, शनिबार गते

धेरै पढिएको

ताजा समाचार