सिंहदरबार छाडेर नियमितझैं बालुवाटारमा मन्त्रिपरिषद बैठक


प्रधानमन्त्री केपी शर्मा ओलीले यो उखानलाई आज पनि चरितार्थ गरिरहेका छन्।

दिनभरि जसो सभा–सम्मेलन, नेता–कार्यकर्तासँग अनौपचारिक गफगाफमा व्यस्त रहने प्रधानमन्त्री ओली प्रायः साँझ ढल्किएपछि मन्त्रिपरिषद् बैठक राख्न थालेका छन्। अझ कतिपय बेला त रात नै छिप्पिइसकेपछि बैठक सुरू गर्छन्। मध्यरातसम्म बैठक लम्बिन्छ।

ती बैठक पनि सिंहदरबारमा हुँदैनन्, प्रधानमन्त्री निवास बालुवाटारमा हुन्छन्।

कहिलेकाहीँ तत्काल गर्नुपर्ने ‘इमरजेन्सी’ बैठक पनि हुन्छन्। जस्तै, बुधबार साँझ आन्दोलनरत शिक्षकहरूसँग सहमति भयो र सो सहमति मन्त्रिपरिषदले पारित गर्नुपर्ने भयो। बेलुकी मन्त्रिपरिषद् बैठक बालुवाटारमै बस्यो र सो सहमति पारित गर्‍यो।

तर यस्ता आकस्मिक बाहेकका मन्त्रिपरिषद् बैठक पनि बालुवाटारमै बस्ने र रातिसम्म चल्ने नियमित जस्तै बनेको छ। यसरी राति अबेर बैठक बसेर मन्त्रिपरिषद्ले पास गरेका विषय थाहा पाउन नागरिकलाई त परको कुरा, सञ्चारकर्मीलाई समेत हम्मे हुन्छ।

प्रधानमन्त्री ओलीको यस्तो प्रवृत्तिले उनकै मन्त्रिपरिषद्का सदस्यहरू समेत आजीत छन्। तर प्रधानमन्त्रीका सामु मुख खोल्न सकेका छैनन्।

‘दिउँसै र कतिपय अवस्थामा बिहानै गर्न सकिने काम पनि रात परेपछि सुरू गर्ने हाम्रो राजनीतिक परम्परा नै हो। प्रधानमन्त्री ओलीले पनि त्यसलाई चिर्न सक्नुभएको छैन। अझ उहाँ त रात परेपछि मन्त्रिपरिषद बैठक राख्नुहुन्छ,’ एक मन्त्रीले सेतोपाटीसँग भने।

प्रधानमन्त्री ओलीको मन्त्रिपरिषद् दुई राज्यमन्त्रीसहित २४ सदस्यीय छ। यसअघि ओली नेतृत्वको मन्त्रिपरिषदमा दुई जना महिला थिए। शिक्षा मन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि अहिले परराष्ट्र मन्त्री आरजु राणा देउवा मात्रै छिन्। रूपा बिक राज्यमन्त्री भएकाले मन्त्रिपरिषदमा सहभागी हुँदिनन्।

सरकारमा भएका पुरूष सदस्यलाई मात्रै हेरेर राति–राति बैठक राखिएको भनेर मन्त्रिपरिषदभित्रै सुषुप्त कुरा नउठेको पनि होइन।

‘सरकारको नेतृत्व गरिरहेकाहरूले पुरूषको सहजता, अनुकूलता मात्रै हेरेर बैठक, छलफल गर्नु हुँदोरहेछ। पुरूष सदस्यहरूलाई जति बेला पनि बैठक बस्न सहज हुन्छ। गृहिणीको समेत भूमिकामा हुने महिलाहरूलाई मध्यरातसम्म बैठक बस्न सहज छैन। पारिवारिक भूमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ भनेर गुनासो गर्नुहुन्थ्यो,’ एक सदस्यले भने।

पूर्वमन्त्री विद्या भट्टराईले पनि मन्त्रिपरिषद मात्र होइन, पार्टी कमिटी बैठकहरू समेत पुरूषको सहजतालाई मात्रै हेरर राख्ने गरिएको बताइन्। महिलाहरूको बाध्यता र उनीहरूले निर्वाह गर्नुपर्ने भूमिकाको नजरअन्दाज हुने गरेको उनको भनाइ छ।

उनले पनि दिउँसै गर्न सकिने काम रातिसम्म पर्खिने वा राति सुरू गर्ने नेपाली राजनीतिको प्रचलन नै भएको बताइन्। र, यो प्रचलन तोड्नुपर्ने बताइन्।

प्रधानमन्त्री ओलीले राति–राति बैठक गर्ने र निर्णयमा बियाँलो गर्ने मात्र होइन, मन्त्रिपरिषद् बैठक पनि सरकारले आवासका लागि उपलब्ध गराएको निवास बालुवाटारमै राख्न थालेका छन्।

गत असार १७ गते नेपाली कांग्रेससँग सातबुँदे सहमति भएर असार ३० गते प्रधानमन्त्री नियुक्त भएयता सुरूआती दिनमा उनले सिंहदरबारमै मन्त्रिपरिषद बैठक राखे। तर बिस्तारै लत्तो छाडे।

ओलीले गत असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यही दिन मन्त्रिपरिषद बैठक बसेको थियो। असार ३१ गते र साउनका ९ वटा मन्त्रिपरिषद बैठक सिंहदरबारमै बसेका थिए।

त्यसबाट प्रधानमन्त्री ओलीको सिंहदरबारबाटै काम विन्यास गर्ने रूचि बढेछ भन्ने धेरैलाई लागेको थियो।

तर त्यसपछिका बैठकमा प्रधानमन्त्री ओलीको रूचि सिंहदरबारमा भन्दा बढ्ता बालुवाटारमै देखिन्छ।

गत फागुन र वैशाखको बैठक एउटा पनि सिंहदरबारमा बसेको छैन। फागुनमा जम्मा चार वटा बैठक भएका थिए, सबै बालुवाटारमै। वैशाखका तीन वटा बैठक पनि सबै बालुवाटार, त्यो पनि रातको समयमा भएका छन्।

ओलीले प्रधानमन्त्री सम्हालेयता, १० महिनामा ५२ वटा मन्त्रिपरिषद बैठक भएका छन्। त्यसमध्ये ३२ वटा सिंहदरबारमा र २० वटा बालुवाटारमा भएका हुन्।


प्रकाशित मिति : २०८२ बैशाख १९, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार