म्यानचेस्टर युनाइटेडले युरोपा लिगको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ।
पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई पहिलो लेगमा बिहीवार युनाइटेडले ३-० ले हराएको छ। ओल्ड ट्राफोर्डमा हुने सेमिफाइनल दोस्रो लेगका लागि म्यान युनाइटेडले फराकिलो अग्रता बनाएको छ।
शोरगुलपूर्ण सान मामेस स्टेडियममा पाहुना टोली सुरुआती चरणमै २-० ले पछि पर्न सक्थ्यो। विलियम्सले राम्रो पोजिसनबाट गरेको हेडर बाहिरियो। त्यस्तै एलेक्स बेरेन्गुएरको प्रहारलाई भिक्टर लिन्डेलोफले गोललाइनमा रोके । तर ३०औं मिनेटमा खेल नाटकीय रुपमा युनाइटेडको पक्षमा मोडियो । जब ह्यारी म्याग्वायरले दायाँपट्टिबाट केही राम्रो कौशल देखाउँदै क्रस गरे र त्यो कासेमिरोले हेड गरेर गोलमा परिणत गरे। त्यसको ७ मिनेटपछि भिएआरको समीक्षा पछि रास्मुस होइलुनमाथि ड्यानी भिभियनले गरेको फउलका लागि युनाइटेडलाई पेनाल्टी दिइयो ।
भिभियन रातो कार्ड पाए। कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टी सहज रूपमा गोलमा परिणत गरे र अग्रता दोब्बर बन्यो । ४५ औं मिनेटमा म्यानुएल उगार्टेले दिएको पासमा फर्नान्डेजले अर्को गोल गरेपछि युनाइटेड पहिलो हाफमा ३-० ले अघि बढ्यो। रुबेन अमोरिमको टोली दोस्रो हाफमा पनि दबाब बनायो । कासेमिरोको हेडर कर्नरबाट पोस्टकोमा लागेर बाहिरियो । एथ्लेटिकलाई ३ गोलको घाटा चुनौतीपूर्ण हुनेछ। दोस्रो लेग बिहीवार ओल्ड ट्राफोर्डमा हुनेछ ।
टोटनह्यामले अर्को सेमिफाइनल पहिलो लेगमा बोडो/ग्लिम्टलाई ३–१ ले पराजित गरेका छ। यसले इंग्लिस युरोपा लिग फाइनलको सम्भावना बलियो देखिन्छ।

